काठमाण्डु-सहकारी ठगीसहितका आरोपमा पक्राउ परेका रास्वपाका सभापति तथा पूर्व उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई प्रहरीले आज कास्की जिल्ला अदालत पेश गर्दैछ ।
शुक्रबार पक्राउ परेका सभापति लामिछानेमाथि थप अनुसन्धान गर्नु पर्ने भएकाले म्याद थपका लागि प्रहरीले अदालत पेश गर्न लागेको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले लामिछानेलाई शुक्रवार पक्राउ गरी पोखरा लगेको थियो । प्रहरीका अनुसार आज बिहान १० बजे लामिछानेलाई अदालतमा पेश गरिनेछ ।
उनीविरुद्ध सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि म्याद थप गर्न प्रहरीले अदालतमा माग गर्ने तयारी गरेको छ ।
म्याद थपपछि प्रहरीले उनीविरुद्ध सहकारी रकम ठगी र संगठित अपराधबारे अनुसन्धान सुरु गर्नेछ । जिल्ला अदालत कास्कीले शुुक्रबार रवि लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सोही आधारमा प्रहरीले लामिछानेलाई काठमाडौंस्थित पार्टी कार्यालयबाट नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले पूरक मुद्दाका लागि अनुसन्धान अगाडि बढाएको बताए ।
सरकारवादी मुद्दामा आइतबार जिल्ला सरकारी वकिल कार्यालयकी प्रमुख एवं जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले बहस गर्नेछिन् ।
सहकारीपीडितका तर्फबाट निजी वकिल युवराज पराजुलीले बहस गर्नेछन् । आइतबार अन्य वकिलले पनि पीडितको तर्फबाट बहस गर्न इच्छा देखाएको सूर्यदर्शन बचतपीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले बताए । लामिछानेको पक्षबाट अधिवक्ताहरू सुशील पन्त, नारायण घिमिरे र सुवास आचार्यले बहस गर्ने छन् ।
सूर्यदर्शनसहितका सहकारीको साढे ६५ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरी गोर्खा मिडियामा लगेको आरोपमा गोर्खा मिडियाका पूर्व प्रबन्धनिर्देशक रहेका लामिछानेलाई पक्राउ गरिएको हो ।
संसदीय छानबिन विशेष समितिले सहकारी बचत अपचलनमा लामिछानेको संलग्नता रहेको भन्दै अनुसन्धानका लागि सरकारलाई सिफारिस गरेको थियो । सोही मुद्दामा पूर्व एआइजी छबिलाल जोशी र सञ्चालक कुमार रम्तेल यसअघि नै पक्राउ परिसकेका छन् । गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीबी राई अहिलेसम्म फरार छन् ।
लामिछाने विरुद्ध परेको उजुरीका आधारमा प्रहरीले उनलाई ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सक्ने कानुनी व्यवस्था छ । डीएसपी शर्माका अनुसार पोखराको सूर्यदर्शन सहकारीको बचत हिनामिनामा संलग्न रहेको आरोपमा हालसम्म ६० जनालाई प्रतिवादी बनाइएको छ ।
त्यसमध्ये ७ जनालाई अदालतबाट अनुमति लिएर र २ जनालाई जरुरी पक्राउ पुर्जी दिएर नियन्त्रणमा लिइएको थियो । यसअघि पक्राउ परेर मुद्दा चलाइएका मध्ये ६ जना पुर्पक्षका लागि हिरासतमा रहेको पनि उनले जानकारी दिए ।
डीएसपी शर्माका अनुसार लामिछानेलाई जिल्ला प्रहरीको हिरासतमा एक्लै राखिएको छ । इस्तै केही दिन अस्पतालमा भर्ना भएका पूर्वडीआईजी जोशीलाई पनि शनिबारदेखि हिरासतमै राखिएको छ । दुवै जनालाई छुट्टाछुट्टै हिरासतमा राखिएको छ ।




प्रतिक्रिया