काठमाण्डु-सहकारी संस्थाको रकम दुरूपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेसँग आज बयान लिँदैछ ।
समितिले दिउँसो २ बजे बयानका लागि सभापति लामिछानेलाई बोलाएको छ । समितिको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको भएपनि लामिछानेलाई दिउँसो २ बजेको समय दिएको छ । लामिछानेलाई गोरखा मिडिया नेटवर्क कम्पनीका तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा बयानका लागि बोलाइएको समितिले जनाएको छ ।
सूर्यदर्शन, सानो पाइलालगायत सहकारी संस्थामा सर्वसाधारणले राखेको रकम गोर्खा मिडिया नेटवर्कमा प्रवाह भएको सन्दर्भमा सोधपुछका लागि समितिले लामिछानेलाई बोलाइएको समितिका सभापति सूर्य थापाले बताए । समितिले आरोपितसँग बयान लिने क्रम अन्तिम चरणमा पुर्याएको छ । चाँडै बयान सकेर प्रतिवेदन तयार पार्ने समितिको तयारी छ ।
लामिछानेसँगै गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई पनि आजै बयानका लागि बोलाइएको छ ।
समितिले गत आइतबार रास्वपा सहमहामन्त्री विपिन आचार्यलाई बोलाएर बयान लिएको थियो । विपिनले पनि कम्पनीको प्रबन्ध निर्देशक रवि भएपछि उनको हस्ताक्षर चल्ने गरेको बयानमा उल्लेख गरेका थिए ।
सञ्चारकर्ममा हुँदा रवि लामिछानेले जीवी राईसँग मिलेर ग्यालेक्सी टिभी सञ्चालन गर्न विभिन्न सहकारीबाट व्यक्ति र संस्थाको नाममा सहकारीको पैसा अपचलन गरेको आरोप छ ।
उनीहरूले पोखराको सूर्य दर्शन सहकारीबाट १० करोड, सहारा चितवन सहकारीबाट ११ करोड ७१ लाख, बुटवलको सुप्रिम सहकारीबाट १० करोड ७४ लाख गरी ३२ करोड ४५ लाख गोर्खा मिडियाको खातामा ट्रान्सफर गरेको आरोप लाग्दै आएको छ ।
गोरखा मिडिया नेटवर्कबाट सञ्चालित ग्यालेक्सी टेलिभिजनमा जीवी राई अध्यक्ष र रवि लामिछाने प्रबन्ध निर्देशक भएर काम गरेका थिए । लामिछानेकै भनाइअनुसार उनले कम्पनीमा १५ प्रतिशत स्वेट सेयर लिएका थिए । रवि सहकारी ठगीमा संलग्न रहेको भन्दै तत्कालीन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निरन्तर संसद् अवरोध गरेपछि सूर्य थापाको नेतृत्वमा समिति गठन भएको थियो ।
एमालेकै सरिता भुसाल, नेपाली कांग्रेसबाट ईश्वरी न्यौपाने र बद्री पाण्डे, नेकपा (माओवादी केन्द्र)का लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ध्रुवबहादुर प्रधान सदस्य रहेको समिति गठन गरिएको हो । कांग्रेसका पाण्डे पर्यटमन्त्री बनेपछि उनका ठाउँमा हाल सांसद दिलेन्द्र बडू समिति सदस्य छन् ।गएको जेठ १५ गते गठन गरिएको समितिले तीनमहिने कार्यावधि पाएको थियो ।




प्रतिक्रिया