प्रधानमन्त्री ओलीले ‘रअ’ प्रमुखलाई भेट्दा ३ जना साक्षी बसेको खुलासा


काठमाडौं – केही हप्ताअघि भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्त गोयलले काठमाडौं भ्रमण गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेको सार्वजनिक भइसकेको छ । प्रधानमन्त्रीले ओलीले भेटेको कुरा सरकारले आधिकारिक रुपमा स्वीकार नगरेपनि सूचना चुहिएको थियो । तर, प्रधानमन्त्री ओलीले गोयललाई एक्लै भेटेका भने थिएनन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले गोयलसँग एक्लै भेटेपनि बालुवाटारमा भएको ओलीसँगको भेटमा तीन जना साक्षी बसेको खुलासा भएको छ ।

स्रोतका अनुसार ओलीसँगको भेटमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव विष्णु पौडेल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र विदेश मामिला सल्लाहकार राजन भट्टराई भेटमा साक्षी बसेका थिए । विदेशी गुप्तचरसँग एक्लै भेट्दा अन्यथा अर्थ लाग्न सक्ने भएकाले प्रधानमन्त्री ओलीले आफ्नो विश्वासिलो टीमलाई साक्षी राखेको स्रोतले जनाएको छ ।

‘शिष्टाचार भेट गर्छु भन्दा उहांले समय दिनुभएको हो, भेटमा प्रधानमन्त्रीज्युले टिमसहित वसेर आफ्नो कुरा स्पष्ट रुपमा राख्नुभएको छ ।’ प्रधानमन्त्री निकट स्रोतले काठमाडौंपाटीसंग भन्यो ।

‘रअ’ प्रमुख गोयलको तर्फबाट भेटघाटको टोलीमा शशिभुषण सिंह तोमर र अरुण जैन थिए । तोमर रअका ज्वाइन्ट सेक्रेटरी हुन् । नेपालस्थित भारतीय दूतावासमा कन्सुलर भएर काम गरिसकेका अरुण जैन पनि ओलीसँगको भेटमा थिए । ‘रअ’का प्रमुख गोयल नेतृत्वको टीमले कूटनीतिक मर्यादा विपरीत काठमाडौंमा उच्चस्तरीय राजनीतिक भेटघाट गरेको भन्दै विरोध भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement