पूर्वराजा ज्ञानेन्द्र शाह बोल्दा डा. बाबुराम भट्टराईलाई उकुसमुकुस

पूर्वराजा ज्ञानेन्द्र शाह बोल्दा डा. बाबुराम भट्टराईलाई उकुसमुकुस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- पछिल्लो राजनीतिक अवस्थाबारे पूर्वराजा ज्ञानेन्द्र शाहले असन्तुष्टि व्यक्त गरेपछि पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई उकुसमुकुस भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सक्रियतामा सोमबार धनगढीमा नागरिक अभिनन्दन कार्यक्रम भएको छ, जसमा पूर्वराजा शाहले नक्कली भुटानी शरणार्थी प्रकरण लगायत बेथितिप्रति असन्तुष्टि पोखेका थिए ।

पूर्वराजा सार्वजनिक कार्यक्रममा बोेलेपछि सोमबारै राति ११ बजे डा. भट्टराईले ट्विटरमा लेखेका छन् । जसमा असन्तुष्टि सम्बोधनको साटो उल्टै पूर्वराजालाई प्रश्न गरिएको छ ।

डा. भट्टराईले लेखेका छन्, ‘गणतन्त्र दिवस नजिकिँदै गर्दा देशमा विद्यमान अर्थ–राजनीतिक संकट र जनताको असन्तुपष्टको धमिलो पानीमा माछा मार्ने कोशिश गर्दै मृत निरंकुश राजतन्त्रको भूत सल्बलाउनु र कतिपय वृत्तमा आजभन्दा हिजो पो राम्रो थियो कि भन्ने भ्रम पैदा गर्न खोजिनु बिडम्बनापूर्ण छ ।’

गणतन्त्रमा जनताले बेथितिबारे बोल्न पाएको डा. भट्टराईले बताए । उनले अगाडि थपे, ‘वर्तमान नेपाल राज्य बनेर राजतन्त्रले (राणातन्त्र समेतले) नेतृत्व गरेको २०० वर्षमा समान अवस्थामा रहेका विश्वका अधिकांश देश विकास/समृद्धिको चुचुरोमा पुगिसक्दा हामीलाई विकासको पिँधमा कसले थचारेको हो ? निरंकुश राजतन्त्रको ‘स्वर्णकाल’ भनिने सन् १९६०–९० को ३० वर्षको विकास र त्यसयताको आंशिक र पूर्ण लोकतन्त्र/गणतन्त्रको ३० वर्षको विकास मात्र हेरे बुझिन्न र ? पहिले जनताको मुख थुनिएको र रैती बनाएको कालखण्ड र अहिले भूइँतहका जनताले समेत छाती फुलाएर बोलेको र सार्वभौम नागरिक बनेको कालखण्डको भेद स्वतः स्पष्ट छैन र ? अनि हिजो राजदरबारले देशको पूरै सम्पत्ति दैवी शक्तिको आडमा संविधान/कानूनमाथि बसेर बेरोकटोक भोग गरेको तर जनताले थाहासम्म पाउन नसकेको र अहिले लोकतन्त्रमा केही मान्छेले कानून छलेर भ्रष्टाचार गरेको तर तिनलाई कानूनले समातेर खोरमा राखेको उस्तैउस्तै हो ? आज राष्ट्रपति, प्रम, पूर्व प्रमहरूलाई निर्धक्क भन्नु–नभन्नु र गर्नु–नगर्नु गर्न पाइएको छ तर के हिजो राजा त के उनका हुक्के बैठकेहरूलाई समेत कर्के नजरले हेर्न र उनका विरूद्ध कानेखुसी गर्नसम्म पाइन्थ्यो/सकिन्थ्यो ? अनि हात्ती र हात्तीछाप चप्पल उस्तैउस्तै हो ? पक्कै हैन ।’

उनले यतिले मात्रै नपुगेकाले लोकतन्त्रलाई अझै उन्नत बनाउनुपर्ने बताए । उनले भने, ‘हो, हामीलाई यतिले पुगेको छैन । लोकतन्त्र अझै उन्नत बनाउनु छ । विकास/समृद्धिको चुचुरो चुम्नु छ । भ्रष्टाचार निर्मूल गर्नु छ । त्यसैले अतितमुखी हैन, भविष्यमुखी बनौं । इतिहासको नदी उल्टो बग्दैन भन्ने बुझौं । दाहसंस्कार गरिरसकेको राजतन्त्रको राँकेभूतबाट नतर्सौं । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै सुशासन र समृद्धिको दिशामा अघि बढौं ।’

पूर्वराजा शाहले केही दिनअघि भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई समेत भेटेका थिए । भारतीय संस्थापन भारतीय जनता पार्टी (भाजपा) ले राजसंस्था र हिन्दूराष्ट्रको एजेन्डामा समर्थन जनाउँदै आएको छ ।

देशभित्र राप्रपाले राजतन्त्र पुनःस्थापनाका लागि प्रयास गरिरहेको छ । पछिल्लो निर्वाचनमा राप्रपाको जनमत बढेको छ ।