काठमाण्डु – सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बाढी पहिरो लगायत विपद् जोखिम न्यूनीकरण गर्न आम नागरिकलाई समयमै सही सूचना दिने व्यवस्था मिलाउन मातहतका निकाय तथा सरोकारवालालाई आग्रह गरेकी छन् ।
मनसुनजन्य विपद्का घटना बढ्न थालेको बेला इमरजेन्सी टेलिकम्युनिकेसन क्लस्टर (ईटीसी) को बैठक आह्वान गरेर मन्त्री शर्माले सबैलाई तयारी अवस्था रहन आग्रह गरिन् ।
उनले आफ्ना सबै संरचनाहरू तयारी हालतमा राखेर नागरिकलाई तत्काल सूचना दिने गरी पूर्व तयारी थाल्ने सरोकारवालालाई आग्रह गरिन् । ‘आपतकालीन अवस्थामा सञ्चार नै प्रमुख कुरा हो, समयमै सही सूचना भयो भने एकातिर जनधनको क्षति रोक्न सकिन्छ भने अर्कोतिर उद्धार, उपचार र राहतका काम पनि प्रभावकारी बनाउन सकिन्छ,’ उनले भनिन्, ‘विपद्को बेलामा सञ्चार पूर्वाधारमा कुनै समस्या आउन नदिएर सेवा प्रवाह गर्ने र आवश्यक सूचना प्रचारप्रसार गरेर क्षति न्यूनीकरण गर्ने पनि सञ्चार क्षेत्र नै भएकाले यो क्षेत्र थप गम्भीर र संवेदनशील हुन आवश्यक छ ।’
विपद्का घटना हुनुअघि पूर्व सूचना दिने र स्वयं सञ्चार सम्बद्ध निकाय तथा संस्थाहरूले आफूलाई विपद्बाट बचाएर सेवा प्रवाह गर्ने दुवै तरिकाले सोच्नुपर्ने उल्लेख गर्दै मन्त्री शर्माले हरेक निकायले आपतकालीन उद्धार समूहहरू बनाएर अघि बढ्नुपर्ने बताइन् । टेलिफोन र इन्टरनेट सेवा प्रदायकहरूलाई सम्भावित जोखिमस्थलको पहिचान गरेर घटनापछि सेवा अवरुद्ध नहुने गरी वैकल्पिक व्यवस्थापन गर्न आग्रह गरिन् ।
नेपाल विपद्का हिसाबले विश्वमै जोखिमयुक्त मुलुक भएकाले एउटा विपद्बाट बच्ने तयारी गरिरहँदा अर्को विपद आउनसक्ने भएकाले दीर्घकालीन रूपमा नै विपद्बाट बच्नका लागि सञ्चार व्यवस्था प्रभावकारी बनाउनुपर्नेमा मन्त्री शर्माले जोड दिइन् । उनले यस्तो अवस्थामा आमसञ्चारका माध्यमको सबैभन्दा प्रभावकारी भूमिका हुने र त्यसमा पनि अझ जस्तो विपद्को बेलामा पनि सुन्न सकिने रेडियोहरूले क्षणक्षणमा सही सूचना दिनुपर्ने बताइन् ।
बैठकमा दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम र एनसेलका प्रमुख तथा प्रतिनिधिहरूले बाढीपहिरोको जोखिमस्थल क्षेत्रका सेवाग्राहीलाई विपद् जोखिमको सूचना दिन एसएमएस गर्ने व्यवस्था मिलाइएको जानकारी दिएका थिए । सरकारी स्वामित्वका सञ्चारमाध्यम, अकोराब, बान लगायतका संस्थाका प्रमुख तथा प्रतिनिधिहरूले विपद्जन्य जोखिमबाट बच्नका लागि सचेतनाका कार्यक्रम र सूचनाहरू नियमित रूपमा प्रवाह गरिरहेको बैठकमा जानकारी गराएका थिए ।




प्रतिक्रिया