जेनजी आन्दोलनमा बगेको रगत खेर जान्छ कि भन्ने चिन्ता छ : पूर्वमन्त्री शर्मा

जेनजी आन्दोलनमा बगेको रगत खेर जान्छ कि भन्ने चिन्ता छ : पूर्वमन्त्री शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री तथा माओवादी केन्द्रकी नेत्री रेखा शर्माले जेनजी आन्दोलनको रापताप सेलाउँदै आन्दोलनमा बगेको शहीदको रगत खेर जान्छ कि भन्ने चिन्ता व्यक्त गरेकी छन् ।

मंगलबार काठमाण्डुमा आयोजित भ्रष्टाचार नियन्त्रणको भावी रणनीति अन्तरक्रियात्मक छलफलमा बोल्दै उनले जेनजी आन्दोलनले स्थापित गरेको एजेण्डा कार्यान्वयनमा कसरी लैजाने भन्ने अहिलेको प्रमुख चुनौती रहेको बताइन् ।

थन्केर बसेका फाइल खोल्दा मात्र पनि ठूलो भ्रष्टाचारको विरुद्धमा माहोल सिर्जना हुने उनको भनाइ छ ।

उनले भनिन्, ‘जेनजी आन्दोलनले स्थापित गरेको एजेण्डा कार्यान्वयनमा कसरी लैजाने अहिलेको चुनौती त्यहीँ नै हो । थुप्रै अध्ययन भएर फाइलहरू थन्केर बसेका छन् । तिनलाई खोल्दा मात्र पनि ठूलो भ्रष्टाचारको विरुद्धमा माहोल सिर्जना गर्न सकिन्छ । जेनजी आन्दोलनको रापताप सेलाउँदै गएर आन्दोलनमा बगेको शहीदको रगत खेरा जाला कि भन्ने चिन्ता लागेको छ ।’

उनले राजनीति देशको माउनीति भएको भन्दै राजनीति सफा नगरी अरु नीति सफा गर्न सम्भव नरहेको धारणा राखिन् । ‘म के कुरामा सहमत छु भने राजनीति देशको माऊनीति हो । जबसम्म माउनीति सफा हुँदैन । अरु नीति जतिसुकै सफा गर्छु भने पनि सम्भव छैन । त्यसकारण पहिलो सुधार राजनीतिबाट हुनुपर्छ । अनि मात्र अरु क्षेत्रको सुधार गर्न सकिन्छ ।’

राजनीतिक दल र नेताहरू सबैले गम्भीर आत्मासमीक्षासहित भ्रष्टाचार कम गर्ने अठोट गरेमा मात्र भ्रष्टाचार नियन्त्रण गर्न सकिने उनको भनाइ छ । ‘म भ्रष्टाचार गर्दिनँ र सकेसम्म अरुलाई पनि गर्न दिन्नँ भन्ने कुरा भित्र मनदेखि आउनुपर्छ । त्यो केवल नाराको लागि मात्र होइन । राजनीतिक दल र नेताहरू सबैले गम्भीर आत्मासमीक्षासहित भ्रष्टाचार कम गर्ने अठोट गर्‍यौं भने मात्र भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ ।’

उनले पछिल्लो समय राजनीतिमा लागेका नेताहरूलाई समेत विचौलियाहरूले चलाउन थालेका कारण भ्रष्टाचार बढेको उनको ठम्याइ छ ।