निलम्बनमा परेका मुख्यसचिव अर्यालको बचाउमा सरकार

निलम्बनमा परेका मुख्यसचिव अर्यालको बचाउमा सरकार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा निलम्बनमा परेका मुख्यसचिव बैकुण्ठ अर्यालको बचाउमा उभिएकी छन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयबारे जानकारी दिने क्रममा प्रवक्ता शर्माले कसैलाई मुद्दा लाग्दैमा दोषी प्रमाणित नहुने भन्दै अर्यालको बचाउ गरेकी हुन् ।

शर्माले मुख्यसचिवको पद रिक्त नभएको बताइन् । ‘कसैलाई मुद्दा लाग्दैमा दोषी प्रमाणित हुँदैन । मुद्दा अवधिभर उहाँ (मुख्यसचिव बैकुण्ठ अर्याल) को पद स्वतः निलम्बनमा हुन्छ। त्यो पद रिक्त भएको अवस्था होइन। एकातिर उहाँ निलम्बनको अवस्थामा हुनुहुन्छ। अर्कोतिर पद रिक्त भएको छैन। त्यसैले कायममुकायम गर्न वा रिकन्फर्म गर्न र अरू कुनै गर्नलाई पनि बाटो नखुल्ने भएको कारणले विशेष पद सिर्जना गरिएको हो। उहाँको अवधिभर यो विशेष पद रहन्छ। उहाँको अवधि सकिएपछि विशेष पद स्वतः हट्छ।’, उनले भनिन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकले निलम्बित मुख्यसचिव अर्याललाई राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरी सरुवा गर्ने निर्णय गरेको छ। अर्यालको निलम्बनसँगै प्रधानमन्त्री कार्यालयकी कानुन सचिव लीलादेवी गड्तौलाले निमित्त मुख्यसचिवको जिम्मेवारी पाएकी छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तःशुल्क स्टिकर खरिदमा अनियमितता भएको भन्दै  मुख्यसचिव अर्यालमाथि आइतबार मुद्दा दायर गरेकाे थियाे ।  निजामती सेवाको सर्वोच्च पद मुख्यसचिव पदमा बहाल रहेकै अवस्थामा भ्रष्टाचार मुद्दा दायर भएको यो पहिलो घटना हो।