लुम्बिनी प्रदेशकी सांसद् शर्मा पक्राउ

लुम्बिनी प्रदेशकी सांसद् शर्मा पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा पक्राउ परेकी छन्।

एमालेबाट निर्वाचित शर्मा आइतबार मध्यराति काठमाण्डुको धुम्बराहीबाट पक्राउ परेकी हुन्।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो । शर्मामाथि नाबालिकालाई घरेलु कामदारका रूपमा राखेर बालबालिकाविरुद्धको कसुर गरेको आरोप छ।

डेढ वर्षअघि शर्मामाथि घरमा बाल श्रमिक राखेर श्रम शोषण गरेको आरोप लागेको थियो। ६ वर्षदेखि शर्माले घरमा एक बालिकालाई कामदारको रुपमा राखेर कुटपिटसहित श्रमशोषण गरेको आरोप थियो।

ती बालिकाले आफूमाथि कुटपिट हुने गरेको बताइएकी थिइन्। उनको अवस्था पनि खराब देखिएपछि त्यतिबेला काठमाण्डु महानगरपालिकाले शर्माको घरबाट ती बालिकाको उद्धार गरेको थियो।

त्यतिबेला शर्माविरुद्धको जाहेरीमा सरकारी वकिल कार्यालयले उनलाई मुद्दा नचलाउने निर्णय गरेको थियो। जतिबेला एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए।

शर्मामाथि मुद्दा नचलाउने सरकारी वकीलको निर्णयसहितको फाइल मानव अधिकार आयोगलेसमेत झिकाएको थियो।

सत्ताको प्रभावमा परेर आफ्ना सांसदलाई उन्मुक्ति दिएकोमा विरोध भएपछि आयोगले चासो देखाएको थियो। त्यतिबेला काठमाण्डु महानगरपालिकाका तत्कालीन मेयर बालेन शाह ले यसबारे प्रतिक्रिया दिएका थिए।

उनले लेखेका थिए, ‘सरी नानु, तिम्रा पिडककाविरूद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले। नआत्तिनु। समय आउनेछ। यस्तै विभेद, अपराध मास्न अनि ती कुकर्म गर्नेहरूलाई तहलगाउन तिमी र तिमी जस्तै धेरै नानीबाबुले पढ्न पर्छ। समाज बुझ्नपर्छ।’

प्रहरीले सांसद शर्मालाई पक्राउ गरी बालबालिका सम्बन्धी ऐनअन्तर्गत थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ ।