नवीकरणीय ऊर्जा प्रविधि विकाससम्बन्धी पाँचौ अन्तर्राष्ट्रिय सम्मेलन हुने


काठमाडौँ – नवीकरणीय ऊर्जाको विकासलाई उत्प्रेरणा दिन यही चैत १५ देखि नवीकरणीय ऊर्जा प्रविधि विकाससम्बन्धी पाँचौ अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाको सहयोगमा काठमाडौँ विश्वविद्यालयको अगुवाईमा हुन लागेको सो सम्मेलनमा इन्टरनेशनल इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियर्स पावर एण्ड इनर्जी सोसाइटीको प्राविधिक सहयोग रहनेछ ।

जर्मनी, संयुक्त अधिराज्य, भारत, बंगलादेश, पाकिस्तान, चीन तथा अमेरिकासहित ६ महादेशका २५ मुलुकका ३०० प्रतिनिधिको सहभागिता रहने आयोजकले बताएको छ । सम्मेलनमा हावा, बायोग्यास, सोलारजस्ता विभिन्न ऊर्जाको कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल हुने काठमाडौँ विश्वविद्यालयका एशोसियट डिन डा रमेश मास्केले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

विभिन्न मुलुकबाट १२४ वटा कार्यपत्र प्राप्त भएकोमा विभिन्न विज्ञका ९० कार्यपत्र सम्मेलनमा राख्न पाउने गरी स्वीकृत गरेको उनले बताए । नेपालमा नवीकरणीय ऊर्जाको खपत ४ प्रतिशत भन्दा कम रहेको र यो खपतलाई बढाएर ग्यास तथा बिजुली तथा दाउराको खपतमा कम गर्नुपर्ने डा मास्केले बताए ।

नेपाल नवीकरणीय ऊर्जा परिसंघका कार्यकारी निर्देशक पूर्ण रन्जितकारले युरोप तथा चीन नवीकरणीय ऊर्जाको प्रयोगमा निक्कै अगाडि बढिसकेको तथा जापान र भारतपनि यसतर्फ अघि बढ्दै गएको परिस्थितिमा नेपालमा नवीकरणीय ऊर्जाको प्रयोगको संभावनाको बारेमा छलफल हुनु सकारात्मक पक्ष भएको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement