चितवन – भरतपुर महानगरपालिकी मेयर रेनु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला छिट्टै बन्ने बताएकी छिन्।
बागमती प्रादेशिक क्रिकेट सङ्घ र भरतपुर महानगरपालिको संयुक्त आयोजना भएको १६ वर्षमुनिको क्रिकेट छनोट प्रतियोगिता शुभारम्भ गर्दै उनले रङ्गशाला बन्ने निश्चित भएको बताएकी हुन्।
प्रमुख दाहालले भनिन्,’अब केही प्रक्रिया मिलाएर राष्ट्रिय खेलकुद परिषद्ले काम अगाडि बढाउन लागेको छ।’ अहिले पनि धेरै जनामा रङ्गशाला बन्ने हो कि होइन भन्ने प्रश्न उब्जिएको भन्दै उनले धुमुर्स–सुन्तली फाउण्डेशनलाई ऋण तिर्न एक मुष्ट १२ करोड अनुदान दिई बाँकी निर्माणकार्य अगाडि बढ्ने बताइन्। निर्माणाधीन उक्त रङ्गशालाको स्वामित्व राखेपले लिने निर्णय भएको र बाँकी कार्य पुल्चोक क्याम्पसको प्राविधिक सहयोगमा गर्ने गरी बोलपत्र आह्वान गरिने प्रमुख दाहालले बताइन्।
उनले पुल्चोक इन्जीनीयरिङ क्याम्पस र राष्ट्रिय खेलकुद परिषद्बीच यसबारे निरन्तर छलफल भइरहेको बताइन्। रङ्गशाला निर्माण गरिरहेको धुर्मुस–सुन्तली फाउडेशनले ऋण देखाउँदै निर्माणकार्य बन्द गरेर उक्त रङ्गशाला महानगरपालिकालाई हस्तान्तरण गरेको थियो। मन्त्रिपरिषद्को बैठकले फाउण्डेशनलाई एकमुष्ठ अनुदान दिई सङ्घीय सरकारले थप निर्माणकार्य अगाडि बढाउने निर्णय गरेको थियो।
बागमती प्रदेश क्रिकेट सङ्घ र भरतपुर महानगरपालिकाको संयुक्त आयोजनामा निर्माणाधीन उक्त रङ्गशालाको मैदानमा आजदेखि ‘भरतपुर मेयरकप वागमती प्रदेश अन्डर–१६ क्रिकेट छनोट प्रतियोगिता’ सञ्चालन गरिएको हो। प्रतियोगिता वैशाख–७ गतेसम्म सञ्चालन हुनेछ।




प्रतिक्रिया