जनकपुर – बलात्कार आरोपमा पक्राउ परेका सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष लक्ष्मी साहलाई सप्तरी जिल्ला अदालतले १५ हजार धरौटीमा रिहा गरेको छ । शुक्रबार जिल्ला अदालत सप्तरीका न्यायाधीश जवाहर प्रसाद सिंहको इजलासले साहलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
साहसँगै सोही आरोपमा पक्राउ परेका अनिल राय र मोहम्मद नसिमलाई पनि जनही १५ हजार धरौटीमा रिहा गर्ने आदेश दिएको सप्तरी जिल्ला अदालतका निमित्त स्रेस्तेदार हरि पराजुलीले बताए ।
बलात्कार पीडितको बयानको आधारमा अनुसन्धान भने जारी नै राखेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।
स्थानीय एक जना महिलाले बलात्कारको उजुरी दिएपछि प्रहरीले वडा अध्यक्ष साहसहित तीन जनालाई गत मंसिर २२ गते पक्राउ गरेको थियो ।
प्रहरीले पक्राउ गरेपछि घटनाको सत्यतथ्य छानबिन तथा रिहाइको माग गर्दै शम्भुनाथ नगरपालिका र मातहतका सम्पूर्ण कार्यालय बन्द गरिएको थियो ।
मेयर योगेन्द्रप्रसाद चौधरीले समेत मंगलबार पत्रकार सम्मेलन गरी वडाध्यक्षलाई षड्यन्त्रपूर्वक फसाइएको भन्दै उनको रिहाइका लागि दबाब दिन नगरपालिका र वडाको कामकाज अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेका थिए । उनी कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।




प्रतिक्रिया