काठमाण्डु – नागरिक उन्मुक्ति पार्टी (नाउपा) संरक्षक रेशमलाल चौधरीले श्रीमती रञ्जिता श्रेष्ठ सरकारमा गएर मन्त्री हुँदा कांग्रेस, एमाले र माओवादीको काम मात्रै भएको गुनासो गरेका छन् ।
आज आईतबार जापानमा आयोजित थारु कल्याणकारिणी सभालाई सम्बोधन गर्दै उनले पार्टीबाट श्रेष्ठ ११ महिना मन्त्री भए पनि केही काम गर्न नसकेको बताए ।
चौधरीले रञ्जिता मन्त्री हुँदा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एमालेको मात्रै काम गरेको बताए । उनले भने, ‘हामी सरकारमा गएर केही गर्न दिनेवाला छैनन्, ११ महिना रञ्जिताजी मन्त्री बन्नुभयो । हाम्रो काम भएन । कांग्रेस, एमाले, माओवादीको मात्रै भयो । जनताको काम गर्नै नसक्ने मन्त्रालय दिएर गाडी चढ्न र उद्घाटन गर्न जान मन्त्रालय हामीलाई चाहिएको छैन । हामी जनताको सेवक बन्न चाहन्छौं । खेतमा गएर किसानको समस्या बुझ्न चाहन्छौं ।’
ठूला दल आफूहरूको घर भत्काइदिने स्याल, हुँडार, बाघ, भालुजस्तै भएको उनले गुनासो गरे । चौधरीले ठूला दलले २०८४ सालसम्म साना दललाई सखाप पार्ने योजना बनाएको दाबी गरे ।
पार्टीका केही नेताहरूले जनताको सेवक बन्न छाडेर मन्त्री बन्ने अपेक्षा राखेको उनले बताए । ‘मेरो पार्टीमा पनि धेरै साथीहरूको आकांक्षा मन्त्री बन्ने रहेछ । म भन्छु – जनताको सेवक बन्न पाऊँ । मेरा साथीहरू भन्नुहुन्छ – मन्त्री बन्न पाऊँ । म भन्छु– जनताको सेवा गर । मेरा साथीहरू भन्छन् – गाडी चढेर सिंहदरबार कतिबेला जान पाइएला ? सकेसम्म रेशमको आँखा छलेर जान पाए हुन्थ्यो ।’




प्रतिक्रिया