काठमाण्डु – टीकापुर हत्याकाण्डको आरोपमा जेल परेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी रिहा भएका छन्। गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएपछि चौधरी आज डिल्लीबजार कारागारबाट रिहा भएका हुन् ।
मन्त्रिपरिषद्ले आइतबार बिहान रेशमको करिब १५ वर्ष कैद सजाय माफी गर्न सिफारिस गरेको थियो । पाँच वर्ष तीन महिना जेल सजाय काटेका चौधरीको १४ वर्ष ९ महिना जेल सजाय छुट भएको हो । यसपटक चौधरीसहित १९ जनाले संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५९ बमोजिम गणतन्त्र दिवसको उपलक्ष्यमा माफी पाएका छन् ।
राष्ट्रपतिले थप ४८२ जना कैदी बन्दीको सजाय पनि मिनाहा गरेका छन्। टीकापुर घटनामा भने रेशम चौधरीलाई मात्रै माफी दिइएको छ। रेशमको स्वागतका लागि श्रीमती एवं नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी, नेतृ एलिजा गौतमसहित सयौं नेता कार्यकर्ता, शुभेच्छुक डिल्लीबजार कारागार पुगेका थिए । रेशमलाई फूलमालाले भव्य स्वागत गरिएको छ ।




प्रतिक्रिया