महन्थ ठाकुर जसपाका भिष्म पितामह हुन् : रेशम चौधरी


काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) का नेता रेशम चौधरीले महन्थ ठाकुर जसपाका भिष्म पितामह भएको प्रतिक्रिया दिएका छन् । जसपाको पार्टी विवादमा सनाखत गर्न आज निर्वाचन आयोग पुगेका नेता चौधरीले आयोगबाट बाहिरिने क्रममा नेता ठाकुरलाई भिष्म पितामह भएको बताएका हुन् ।

उनले भने, ‘महाभारतमा पाण्डवले जित्छन् भन्ने थाहा हुँदाहुँदै पनि भिष्म पितामह कौरवको पक्षमा लागेका थिए । युद्धमा अर्जुनले आफैले वाण हानेर घाइते बनाएका भिष्म पितामहलाई सम्मान गरेजस्तै जसपामा ठाकुरको पनि सम्मान हुनुपर्छ ।’

टीकापुर घटनामा दोषी ठहर भएर जन्मकैदको सजाय काटिरहेका नेता चौधरीले आफुलाई न्याय दिन आग्रह गरेका छन् । ‘कठघरामा उभिएर जति सत्य बकेपनि दोषी ठहर गरियो । श्रीमान न्याय देउ हामीलाई, क्षमा चाहिँदैन । दोषीलाई दण्ड देऊ, निर्दोषीलाई थुन्न पाइँदैन,’ उनले भने ।

त्यसैगरी आज निर्वाचन आयोग पुगेका चौधरीले तटस्थ बस्ने निर्णय गरेका छन् । यसअघि उनी महन्त ठाकुर पक्षका सांसद हुन् । उनले निर्वाचन आयोगको कार्यालय पुगेर पार्टीका शीर्ष नेताहरुसँग छलफल गरेका थिए । छलफलपछि उनले आफूलाई कुनै पक्षमा लाग्नु नरहेको भन्दै तटस्थ बस्ने निर्णय लिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement