मुद्दा फैसला नहुँदै कसरी पक्राउ परे रेशम चौधरी ?

मुद्दा फैसला नहुँदै कसरी पक्राउ परे रेशम चौधरी ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कैलालीको टीकापुर हत्याकाण्डमा दोषी ठहर भई राष्ट्रपतिबाट कैद मिनाहा पाएका रेशम चौधरी पुनः पक्राउ परेपछि सर्वाेच्च अदालत प्रशासनमाथि प्रश्न खडा भएको छ ।

चौधरीको कैद मिनाहाविरुद्ध परेको मुद्दामा आदेश वा फैसला नहुँदै सर्वाेच्च प्रशासनले रेशमलाई कारागार पठाउन पत्र काटेको छ ।

सर्वाेच्च अदालतको मुद्दा तथा रिट महाशाखाको च.नं. १९२७७ को पत्रमा शाखा अधिकृत महिमानसिंह विष्टले हस्ताक्षर गरेका छन्, जसमा रेशमलाल चौधरीलाई नियमानुसारको सिधाखर्च दिई कैदमा राख्न अदालतको मिति २०८० जेठ २ गतेको फैसलाअनुसार कारागार कार्यालय डिल्लीबजारलाई अनुरोध गरिएको छ ।

टीकापुर घटनामा २०८० जेठ २ गते चौधरीलाई जन्मकैदको फैसला भएको थियो । त्यसपछि २०८० जेठ १५ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट कैद मिनाहा भएको थियो ।

कैद मिनाहाको निर्णयविरुद्ध पीडित शारदा बोहराले दायर गरेको रिटको पेशी आगामी असारमा तोकिएको छ । तर बुधबार एकाएक रेशम चौधरी पक्राउ परेका छन् ।

न्यायाधीश सम्मिलित इजलाशको कुनै आदेश विना नै सर्वाेच्च प्रशासनले पत्र पठाएपछि अहिले अदालतभित्र खैलाबैला मच्चिएको छ । यस विषयमा बुझ्न सर्वाेच्च अदालतका प्रवक्ता अच्युत कुईकेललाई फोन गर्दा ‘व्यस्त’ रहेको थियो ।

रेशमलाई पक्राउ गर्ने पत्र कसरी काटियो र त्यो पत्रलाई कसरी सच्याउने भनेर अदालतभित्र छलफल चलिरहेको स्रोतले जनाएको छ ।