अवकाश प्राप्त सैनिकले गरेका निःस्वार्थ सेवा प्रशंसनीय छन् : प्रधानसेनापति थापा


काठमाण्डु –  प्रधानसेनापति पूर्णचन्द्र थापाले अवकाश प्राप्त सैनिकहरूले गरेको निःस्वार्थ सेवा तथा भूमिका प्रशंसनीय भएको बताएका छन् ।

आइतबार मकवानपुरको हेटौंडास्थित मध्य पृतना हेडक्वाटरमा आयोजना भएको प्रदेश स्तरीय भूपू सैनिक सम्मेलनमा सम्बोधन गर्दै उनले नेपाली सेनाको संस्थागत मूल्य र मान्यताहरुलाई जीवन्त राख्न अवकाश प्राप्त अग्रज सैनिकहरूले गरेको निःस्वार्थ सेवा तथा भूमिकाको प्रशंसा गरेका हुन् ।

यस प्रकारको कार्यक्रमले भूपू तथा बहालवाला सैनिकहरुबीच सामिप्यता बढाउन महत्वपूर्ण भूमिका खेल्नुका साथै सैनिक कल्याणकारी कोषका हिताधिकारीहरुको पिरमर्का सम्बोधन तथा व्यवस्थापनको लागि उत्तम माध्यमको रुपमा प्रभावकारी रहेको बताएका थिए। भूपू सैनिक सम्मेलनमा बाग्मती प्रदेशको ८ जिल्लाहरुमा बसोबास गर्ने ७,४३६ जना नेपाली सेनाका भूतपूर्व सैनिक तथा परिवारजनको सहभागिता रहेको थियो ।

सम्बोधनकै क्रममा प्रधानसेनापति थापाले नेपाली सेनाको कल्याणकारी कार्यसम्बन्धी दीर्घकालीन योजना २०८७ कार्यान्वयन भएको उल्लेख गर्दै भूपूहरुको आर्थिक समुन्नति, प्रगति र अवकाश पछिको सुखमय जीवनको समुचित व्यवस्थापन हुनु भनेकै सिङ्गो नेपाली सेनाको आधारस्तम्भ बलियो हुनु भएको बताएका थिए ।

अवकाशप्राप्त गरी सकेपछि पुन: रोजगारीको लागि विदेशिने अवस्थाको अन्त्य गरि स्वेदशमा नै स्वस्रोजगारीका अवसरहरु सृजना गरी परिवारसँगै सुखमय जीवनयापनको लागि नेपाली सेनाले सैनिक कल्याणकारी गतिविधीहरुलाई विविधीकरण गरी सर्वसुलभ बनाउन अधिकतम प्रयास गर्दै आएको बताएका थिए।

सैनिक कल्याणकारी बोर्डको संयोजकत्व तथा नेपाली सेनाको व्यवस्थापनमा बाग्मती प्रदेशका भूतपूर्व सैनिक तथा निवृत्तभरणमा रहेका परिवारजनको सहभागितामा शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार-आत्म सम्मान तथा समृद्धिको आधारू भन्नें मूल नाराका साथ प्रदेश स्तरीय भूपू सैनिक सम्मेलन २०७७ सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement