काठमाण्डु – चालु आर्थिक वर्ष २०८२/८३ को पुस ३० गतेसम्म सरकारले ५ खर्ब ८१ अर्ब ४१ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
पुससम्मको लक्ष्य ७ खर्ब ११ अर्ब २१ करोड रुपैयाँ रहेकामा हालसम्म लक्ष्यको ८१.७५ प्रतिशत मात्र सङ्कलन भएको हो ।
सरकारले चालु आर्थिक वर्षका लागि कुल १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको छ । तर, आर्थिक वर्षको पहिलो छ महिनामा नै करिब १ खर्ब ३० अर्ब रुपैयाँ बराबरको लक्ष्य पूरा हुन नसकेको देखिन्छ ।
पुस महिनाका लागि मात्र तोकिएको १ खर्ब ९० अर्ब ७७ करोड रुपैयाँ लक्ष्यको तुलनामा १ खर्ब ७१ अर्ब ६३ करोड रुपैयाँ राजस्व उठेको छ, जुन लक्ष्यको ८९.९६ प्रतिशत हो । पुस ३० गते एकै दिन २० अर्ब २६ करोड रुपैयाँ राजस्व सङ्कलन भएको अर्थ मन्त्रालयले जनाएको छ ।
गत आर्थिक वर्ष २०८१/८२ को तथ्यांकसँग तुलना गर्दा यस वर्ष राजस्व सङ्कलनमा सामान्य सुधार देखिए पनि लक्ष्यअनुसारको प्रगति भने कमजोर देखिएको छ । गत वर्ष २०८१/८२ मा वार्षिक राजस्व लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ रहेको थियो ।
त्यस वर्ष पुससम्मको लक्ष्य ६ खर्ब ७२ अर्ब ८१ करोड रुपैयाँ तोकिएकोमा पुस २९ गते (मसान्त) सम्म ५ खर्ब ६७ अर्ब ४० करोड रुपैयाँ मात्र सङ्कलन भएको थियो । त्यस्तै, गत वर्ष पुस महिनामा १ खर्ब ६१ अर्ब ६२ करोड रुपैयाँ राजस्व उठेको थियो ।
अर्थविद्हरूका अनुसार आर्थिक गतिविधिमा सुस्तता, आयातमा अपेक्षित वृद्धि नहुनु र निजी क्षेत्रको लगानी कमजोर रहनुले राजस्व सङ्कलनमा दबाब परेको छ । आगामी महिनामा राजस्व लक्ष्य पूरा गर्न सरकारलाई आर्थिक गतिविधि चलायमान बनाउने नीतिगत पहल आवश्यक देखिएको छ ।




प्रतिक्रिया