काठमाण्डु – स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले माग अनुसारको अक्सिजन पुर्ति गर्न नसकेको स्विकार गरेका छन् ।
आज भएको भर्चुअल पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले अक्सिजन सिलिन्डर अभाव भएकाले माग पुरा गर्न नसकिएको बताए ।
साथै उनले चिनबाट सिलिन्डर ल्याउन लागेको समेत जानकारी दिए । मन्त्री त्रिपाठीले कोरोना खोप खरिदमा अनियमिततानै नभएको दाबी गरेका छन् ।
उनले सरकारले खरिद गरेको खोपबारे बुझेर मात्र बोल्न सांसदहरुलाई चेतावनी दिएका छन् । मन्त्री त्रिपाठीले सरकारले खरिद गरेको २० लाख डोज खोप भएको र ८० प्रतिशत पैसा पठाइ सकिएको बताए । उनले त्यसबाहेक अरु खोप खरिद नगरेको पनि स्पष्ट पारेका छन् ।
‘सरकारले खरिद गरेको २० लाख डोज खोप हो । ८० प्रतिशत पैसा पठाएको छ । त्यसबाहेक अरु खोप खरिद गरेकै छैन’, मन्त्री त्रिपाठीले भने, ‘बुझेर बोल्नुहोस् । तथ्यांक छैन भने हामी दिन्छौँ । आत्मरतिको लागि नबोल्नुहोस् । खोप खरिदमा कसैलाई पनि कमिसन दिएको छैन ।’
खरिद गरेको मध्येको आउन बाँकी १० लाख खोप कहिले आउँछ भन्ने अझै टुंगो नलागेको मन्त्री त्रिपाठीले बताए ।
कम्पनीमा भएको आगलागी, भारतमा महामारी फैलिएपछि खोप निर्यातमा रोक लगाउँदा खोप आउन ढिला भएको उनले बताए ।
मन्त्री त्रिपाठीले भने, ‘एउटा कम्पनीलाई २० प्रतिशत निर्यातका लागि अनुमति दिइसकेको छ । सेरमले पनि अनुमति पाउनासाथ पहिलो देशका रुपमा नेपालमा खोप आउँछ भन्ने विश्वासमा छौं ।’
साथै उनले ४ डलरमा कुनै कम्पनीले खोप दिने प्रतिबद्धता जनाए सरकारले १ करोड डोज खोप किन्ने बताए । भारत बाहेक अन्य उत्पादकहरुसंग पनि छलफल भइरहेको उनको भनाइ छ ।




प्रतिक्रिया