काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका नवनियुक्त मन्त्री हृदयेश त्रिपाठीले निवर्तमान मन्त्री लालबाबु पण्डितको प्रशंसा गरेका छन् ।
बिहीवार बिहान राष्ट्रपति कार्यालय शितल निवासमा शपथ ग्रहणपछि सिंहदरबार पुगेर त्रिपाठीले कार्यभार सम्हालेका उनले मन्त्री पण्डितले धेरै मेहनत गरेको भन्दै प्रशंशा गरेका हुन् ।
‘पहिलेको मन्त्रीले धेरै मेहनत गर्नुभएको थियो’, त्रिपाठीले भने । उनले आफू मन्त्री हुँदा सरकार फेरिएको नभइ मन्त्री मात्रै फेरिएकाले कार्यशैलीबाहेक अन्य कुरामा कुनै परिवर्तन नआउने स्पष्ट पारे ।
‘संघ, प्रदेश र स्थानीय तहलाई मिलाएर लैजान्छु,’ कार्यभार सम्हाल्दै उनले भने ।
त्रिपाठीले कर्मचारी प्रशासन नै खत्तम छन् भन्ने आफ्नो मान्यता नरहेको बताए । उनले कर्मचारी समायोजनका मनोवैज्ञानिक समस्यालाई मिलाउने बाचा गरे ।
त्यसैगरि राज्य व्यवस्था समितिमा रहेको संघीय निजामती कर्मचारी ऐनसम्बन्धी विधेयकलाई पार लगाउनुपर्ने अर्को चुनौती आफूलाई रहेको उनले स्वीकारे ।
त्यसैगरी प्रत्येक स्थानीय तहका केन्द्रलाई मूल सडक (राजमार्ग) मा जोड्ने काम पुरा गर्ने प्रतिवद्धता उनले जनाए । त्यसैगरी उनले कर्मचारी प्रशासन चुस्त दुरुस्त राखेर चलायमान बनाउन आफूले भूमिका खेल्ने बताए ।
‘कर्मचारी संयन्त्रमा मात्रै समस्या होइन, नीतिगत सुधार पनि आवश्यक छ । त्यसमा काम गर्छौँ’, उनले भने, ‘कर्मचारी नै खत्तम छन् भन्ने मेरो मान्यता, होइन, म बिगार्दिनँ, सपार्नतिर लाग्छु । कर्मचारी संयन्त्रलाई चलायमान बनाउँछु ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार मन्त्रिमण्डल हेरफेर गर्दै पण्डितले सम्हाल्दै आएको मन्त्रालयको जिम्मा हृदयेश त्रिपाठीलाई दिएका थिए ।
तत्कालीन तमलोपाबाट अलग्गिएर स्वतन्त्र राजनीतिक समूह बनाएका त्रिपाठी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सूर्य चिह्न लिएर चुनाव लडेका थिए ।




प्रतिक्रिया