हरेक नेपालीको भागमा ७३ हजार ८६० रुपैयाँ ऋण


काठमाण्डु- नेपालको सार्वजनिक ऋण साढे २१ खर्ब भन्दा माथि पुगेको छ । अर्थ मन्त्रालय मातहतको सार्वजनिक व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७९/८० को १० महिनासम्ममा सार्वजनिक ऋण २१ खर्ब ५४ अर्ब १२ करोड ३९ लाख रुपैयाँ नाघेको छ ।

जसमा आन्तरिक ऋण १० खर्ब ८३ अर्ब ४७ करोड ४९ लाख रहेको छ भने बाह्य ऋण १० खर्ब ७० अर्ब ६४ करोड ९० लाख रुपैँया रहेको छ । तथ्यांक अनुसार गत असारमा सार्वजनिक ऋण २० खर्ब १३ अर्ब २९ करोड ६४ लाख रहेकोमा वैशाख मसान्तसम्म एक खर्ब ४० अर्ब ८२ करोड ७५ लाख बराबर ऋण थपिएको छ ।

सो अवधिमा ८९ अर्ब ४१ करोड रुपैयाँ सावाँ भुक्तानी भएको छ । जस अनुसार १० महिनामा खुद सार्वजनिक ऋण भने १ खर्ब ४० अर्ब ८३ करोड रुपैयाँले वृद्धि भएको छ ।

नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को आकार ४८ खर्ब ५१ अर्ब ६२ करोडलाई आधार मान्दा जीडीपीमा सार्वजनिक ऋणको अनुपात ४४.४० प्रतिशत बराबर देखिएको छ ।

जीडीपीमा सार्वजनिक ऋणको अनुपात बढ्दै जानु र न्यून पूँजी निर्माणका कारण आर्थिक वृद्धिदरसमेत कमजोर भइरहँदा त्यसले आगामी दिनमा मुलुकको अर्थतन्त्रलाई जोखिममा पार्नेसक्ने देखिएको छ ।

नेपालको कुल जनसङ्ख्यालाई कुल सार्वजनिक ऋणसँग तुलना गर्दा प्रतिव्यक्ति ऋण ७३ हजार आठ सय ६० बराबर पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement