रामेछाप – गत असोज १७ गते रातिदेखि ३ दिनसम्मको वर्षाको कारण रोशी खोलामा आएको बाढीले क्षति पुर्याएको बीपी राजमार्गको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ ।
बाढीले क्षति पुर्याएको सडक भोलि शुक्रबार दिउँसोसम्म निर्माण गरी यातायात सेवा सञ्चालन गर्ने लक्ष्यका साथ प्राविधिक टोली खटिरहेको छ ।
बाढीले काभ्रेतर्फ चौकिडाँडादेखि माम्तिसम्म १४ ठाउँमा खोलाले सडक कटान गरेकोमा अब ४ ठाउँमा मात्र डाइभर्सन बनाउन बाँकी रहेको सडक डिभिजन कार्यालय भक्तपुरका इञ्जिनीयर दुर्गा प्रसादले जानकारी दिए ।
सकेसम्म बिहीबार रातभर काम गरेर राति नै सडक खुलाउने नभए पनि शुक्रबार दिउँसोसम्म सडक खुल्ने उनले बताए । ‘हामीले पर्सिसम्म सक्ने लक्ष्य राखेका थियौं, अब सडक भोलि नै खुल्छ, भोलि बिहानबाट खुल्छ वा दिउँसो खुल्छ त्यति मात्र हो, सडक भोलि नै खुल्छ,’ उनले भने ।
सडकको सिन्धुलीतर्फ नेपालथोक र वर्षे खोलामा रोशीले कटान गरेको करीब १ किलोमिटर सडकमा डाइभर्सन निर्माणको काम सकिएको छ ।
सिन्धुली खण्डमा काम सकेपछि उपकरण सहितको टोली काभ्रेको माम्ति पुगेको र त्यहाँ डाइभर्सन निर्माणको काम सुरु गएको सडक डिभिजन कार्यालय खाल्टे सिन्धुलीका प्रमुख पारसमणि हमालले जानकारी दिए ।
सिन्धुलीको टीमले एक्लै काम गर्दा माम्तिमा डाइभर्सन बनाउन शुक्रबार दिनभर लाग्ने भए पनि काभ्रेबाट आएको उपकरण सहितको टोलीले समेत काम गर्दा छिटो काम सकिने प्राविधिक टोलीले बताएको छ ।
रोशी खोलमा आएको बाढीले गत वर्ष पनि बीपी राजमार्गमा ठुलो क्षति गरेको थियो । यसपालि गत वर्ष बगाएपछि बनाएको अस्थायी डाइभर्सनका साथै थप सडकमा समेत क्षति पुर्याएको छ ।




प्रतिक्रिया