चन्द्रपुर दुर्घटनापछि मृतकका परिवारले टायर बालेर गरे प्रदर्शन

चन्द्रपुर दुर्घटनापछि मृतकका परिवारले टायर बालेर गरे प्रदर्शन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट – रौतहटमा भएको सवारी दुर्घटनामा मृत्यु भएका परिवार तथा आफन्तले चन्द्रनिगाहपुर चोकमा प्रदर्शन गरेका छन् ।

उनीहरूले शनिबार पूर्वपश्चिम राजमार्गको चन्द्रनिगाहपुर चोकमा टायर बालेर प्रदर्शन गरेका हुन् । सो सडकखण्ड भएर गुड्ने लामो तथा छोटो दूरीका सवारीसाधन रोकिएका थिए ।

राजमार्ग खुलाउने क्रममा प्रहरी र प्रदर्शनकारीबीच सामान्य झडप भएको छ । झडपपछि प्रहरीले प्रदर्शनकारीहरूलाई भगाएर राजमार्ग सञ्चालन गरेको छ ।

शुक्रबार साँझ चन्द्रपुर नगरपालिका–६ मोथिहायी पुलनजिकै बसको ठक्करबाट ज्यान गुमाएका मोटरसाइकल चालक रौतहटको वृन्दावन नगरपालिका–२ विश्रामपुर बस्ने ४० वर्षीय नागेन्द्र पटेलको मृत्यु भएको थियो ।

दुर्घटनामा १२ वर्षीय युवराज पटेल, ११ वर्षीया आकृति पटेल र १५ वर्षीय छोरा प्रिन्स कुमार पटेल घाइते भएका र अहिले उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

गौरबाट चपुरतर्फ आउँदै गरेको ना४ख ६५४७ नम्बरको बस र विपरीत दिशाबाट गइरहेको ना३९प ४२४० नम्बरको मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको र दुवै सवारीसाधन र बस चालक इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा रहेको डीएसपी रुपा लाबुङले बताइन् ।

अहिले पूर्वपश्चिम राजमार्गअन्तर्गत चन्द्रनिगाहपुर सडक खण्डमा कुनै अवरोध नरहेको र निर्वाध रूपमा सवारी आवागमन भइरहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।