बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी – सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका ३ वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरबाङ सडकको फापरखेत खण्डमा वैकल्पिक मार्ग प्रयोग गरी सडक सञ्चालन भएको छ ।

बेनी–नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा रहेको फापरखेतमा शनिबार अपराह्नदेखि सुरु भएको पहिरो नरोकिएपछि मङ्गला गाउँपालिकाले पखेर–बरञ्जा–ज्यामिरे–सातबिसे–बाबियाचौरको सडक प्रयोग गरी यातायात सञ्चालन गरिएको हो ।

मङ्गला गाउँपालिका–३ का वडा सदस्य हरि गिरीले वर्षायाममा अवरुद्ध बनेको बरञ्जा–सातबिसे–बाबियाचौर खण्डको सडक मर्मत गरी आईतबार दिउँसोदेखि मिनिबस, जीप, मोटरसाइकल, स्कुटर, ट्याक्सी र ट्रयाक्टर चलाउन मिल्ने बनाइएको जानकारी दिए ।

‘निरन्तर खसिरहेको पहिरो नरोकिँदासम्म मर्मत गर्न नसकिने भएकाले दसँैको समयमा जन्मथलो जाने नागरिकलाई राहत दिने उद्देश्यले गाउँपालिकाले वैकल्पिक सडक सञ्चालन गरेको हो,’ उनले भने ।

बेनी–दरबाङ सडकलाई, म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने मङ्गला, मालिका र धवलागिरी गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने ‘लाइफलाइन’ मानिन्छ ।

यसैबिच फापरखेतमा पहिरो निरन्तर झरेकाले पन्छाउने काम सुरु गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताए । पहिरो र वैकल्पिक सडकको गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जाली, जिल्ला समन्वय समितिका कार्यबाहक प्रमुख डिलकुमारी खत्री, प्रमुख जिल्ला अधिकारी गैरेले स्थलगत निरिक्षण गरी यातायात सञ्चालन र सडक मर्मतका लागि सहजीकरण गरेका थिए ।

विक्रम संवत् २०५८ सालमा सडकमार्ग सञ्चालनमा आएदेखि नै पहिरोले दु:ख दिने गरेको जानकारी दिँदै सदस्य गिरीले यसअघिभन्दा फरक स्थानमा पहिरोको समस्या देखिएकाले बाध्य भई वैकल्पिक मार्ग खोल्न परेको बताए ।