काठमाडौं – राष्ट्रिय आविष्कार केन्द्रले बनाएको कोरोना भाइरस संक्रमितको उपचारमा उपयोगी हुने रोबोट नेपाली सेनालाई हस्तान्तरण गर्ने भएको छ ।
सो रोबोटले कोरोनाका बिरामीहरुलाई खाना, औषधिलगायतका सामग्री पुर्याउने छ । यस्तो रोबोट नेपालकै पहिलो भएको राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले बताएका छन् ।
‘यसो हेर्दा यो रोबोट जस्तो देखिँदैन तर काम भने राम्रोसँग गर्छ,’ पुनले फेसबुकमा लेखेका छन्, ‘यो रोबोट आज नेपाली सेनाको कोरोना अस्पतालमा जान्छ ।’
पुनका अनुसार यस्तो रोबोट ७५ हजार रुपैयाँमा ११ दिनमै तयार पारिएको हो ।
रोबोटले आवश्यक चिज बिरामीसम्म पुर्याउने भएकाले चिकित्सक तथा स्वास्थ्यकर्मी र बिरामीबीच प्रत्यक्ष सम्पर्कमा आउनु पर्दैन । त्यसैले यो रोबोट प्रयोग गर्यो भने बिरामीको सेवा गर्ने नर्सहरु सुरक्षित हुने पुनको दाबी छ ।
‘यो रोबोटको विकास गर्न आविष्कार केन्द्रका अनुसन्धानकर्ताहरुलाई ११ दिन जति लाग्यो । यसमा प्रयोग भएको ट्रली नेपाली सेनाले नै दिएको हो । अन्य पार्टपुर्जाहरुको मात्र मोटामोटी खर्च ७५ हजार रुपैयाँ जति लागेको छ,’ पुनले लेखेका छन् ।




प्रतिक्रिया