श्रम मन्त्रालयले सातै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्दै

श्रम मन्त्रालयले सातै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली नागरिकको श्रम यात्रा र रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वार प्रणालीद्वारा सम्बोधन गर्ने उद्देश्यले ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्ने भएको छ ।

मन्त्रालयले मंगलबार एक पत्रकार सम्मेलनको आयोजना गरी मेलाबारे जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै श्रममन्त्री डोलप्रसाद अर्यालले मन्त्रालयले आयोजना गर्न लागेको प्रदेशस्तरीय मेला सुरुवात मात्रै भएको बताए । आगामी दिनमा मेलालाई जिल्ला, स्थानीय र वडासम्म पनि पुर्‍याउन सकिने बताए ।

मेलामा रोजगारीको खोजी गरी रहेका व्यक्ति, रोजगारदाता, तालिम प्रदायक संस्था तथा वैदेशिक रोजगारी सम्बन्धी सबै खालको जानकारी दिने व्यवस्था गरिएको बताए । ‘मेलामा रोजगारीको खोजीमा रहेका व्यक्तिले रोजगारदातासम्म कसरी पुग्ने, अवसरको कसरी पहिचान गर्ने भन्ने विषयमा जानकारी पाउन सक्नेछन् । रोजगारीको लागि आवश्यक सीपको बारेमा पनि जानकारी पाउन सकिनेछन्,’ उनले भने ।

मेला आगामी जेठ १७ गतेदेखि ३० गतेसम्म सातै प्रदेशमा सञ्चालन हुनेछ । मेला हरेक प्रदेशमा २ दिन चल्नेछ । नेपालको रोजगारी परिदृश्यको विशेष आवश्यकतालाई सम्बोधन गर्न रणनीतिक रूपमा डिजाइन गरिएको मेलाले रोजगार खोज्नेहरू र रोजगारदाताहरूबीच मध्यस्थताको काम गर्ने जनाइएको छ ।

मेलामा श्रमिकको सबै खालको समस्या समाधानका लागि सञ्चालन गरिएको श्रमाधान योजना, सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगार बोर्ड लगायत विभिन्न खालका तालिम प्रदायक संस्थाहरूको पनि सहभागिता रहनेछ । मेलामा सबै तहका श्रमिकको आवश्यकता र रोजगारदाताको आवश्यकताको विषयमा छलफल गरिनेछ ।

सामी परियोजना, रेमी योजना, उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल च्याम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ, होटल व्यवसायी महासंघको पनि मेला स्टल राखिने पत्रकार सम्मेलनमा जनाइएको छ ।

मेला कोशी प्रदेशको विराटनगरको महेन्द्र मोरङ बहुमुखी क्याम्पसमा जेठ १७ र १८ गते सञ्चालन हुनेछ । मधेश प्रदेशको वीरगञ्जमा १९ र २० गते सञ्चालन हुनेछ । गण्डकी प्रदेशको पोखरामा जेठ २१ र २२ गते सञ्चालन हुनेछ ।

लुम्बिनी प्रदेशमा बुटवलमा २३ र २४, कर्णाली प्रदेशमा वीरेन्द्रनगरको सुर्खेतमा जेठ २५ र २६, सुदूरपश्चिम प्रदेशको धनगढीमा जेठ २७ र २८ गते हुनेछ भने बाग्मती प्रदेशमा ललितपुरमा जेठ २९ र ३० गते सञ्चालन हुनेछ ।