रामेछाप – गत वर्षको असोज महिनामा रोसी र सुनकोसी नदीमा आएको बाढीले लुभु घाटको पक्की पुल बगाएपछि आवागमनमा समस्या झेल्दै आएका रामेछापको सुनापति, दोरम्बा र खाँडादेवी गाउँपालिकावासीलाई आवागमन गर्न वैकल्पिक मार्ग बनाइएको छ ।
लुभुघाटस्थित रोसी खोलामा अस्थायी वैकल्पिक मार्ग निर्माण गरी यातायात साधन सञ्चालन गरिएको हो ।
सिन्धुलीको नेपालथोकस्थित रोसी खोलामा डाइभर्सन निर्माण गरेर बीपी राजमार्गबाट काभ्रेको तेमाल हुँदै सुनकोसी नदीको सिन्दुरेटारसम्म जाने सडक जोडिएपछि सिन्दुरेटारको पक्की पुल तरेर रामेछापतर्फ छिर्ने बाटो खुलेको छ ।
रोसीमा कल्भर्ट डाइभर्सन बनेसँगै रामेछापको सुनापति गाउँपालिकाका सबै वडा, दोरम्बा र खाँडादेवी गाउँपालिकाका केही वडा तथा काभ्रेको तेमालका केही वडाबाट काठमाण्डु आउजाउ गर्ने स्थानीयलाई सहज भएको सुनापति गाउँपालिकाका–४ बेथानका स्थानीय राज मैनाली बताउँछन् ।
सुनकोसीले लुबुको पुल बगाएपछि सुनापति तथा खाँडादेवी र दोरम्बाका ओल्लो भागमा आउने स्थानीयले खाँडादेवीस्थिति सित्खाको पुल घुमेर आउनुपर्ने बाध्यता थियो । जसले गर्दा नियमित यात्रीहरू तथा बिरामीले काठमाण्डु जानको लागि २ घण्टा बढी घुम्नु पर्ने बाध्यता थियो । अब यो बाध्यता हटेको सुनापति गाउँपालिका अध्यक्ष ठुलो कान्छा तामाङले बताए ।
हेर्दा सानो काम जस्तो देखिए पनि यो डाइभर्सन बनेपछि यस भेगका मानिसलाई कम्तीमा ९ महिनासम्म काठमाण्डु आउजाउ गर्न सहज भएको छ, अब जेठ महिनासम्म डाइभर्सनबाट यातायात साधन चल्छन्, यसले सामान्य मानिसलाई आउजाउ गर्न सहज सेवा दिनेछ भने गम्भीर बिरामीको ज्यान बचाउन सहयोग गर्नेछ,’ उनले भने ।
दशैंको बेलामा छोटो बाटो बन्दा स्थानीयलाई घर आउन जान निक्कै सहज भएको छ ।




प्रतिक्रिया