दोहोरो राहदानी र सहकारी ठगीमा संलग्नताबारे लामिछानेमाथि छानबिन गर्न राप्रपाको माग


काठमाण्डु- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गृहमन्त्री रवि लामिछानेमाथि पनि छानबिन गर्न माग गरेको छ ।

बुधवार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गृहमन्त्री लामिछानेको दोहोरो राहदानी र सहकारी ठगीमा संलग्नताबारे छानबिन गर्न माग गरेको हो ।

‘नागरिकता प्रकरणमा जुन ढंगबाट सिरोहियामाथि छानबिन सुरु भएको छ, त्यसैगरी गृहमन्त्री रवि लामिछानेमाथि लागेको आरोपमाथि पनि छानबिन गरिनुपर्छ भन्ने राप्रपाको धारणा छ । कानुन सर्वसाधारण र मन्त्रीलाई समान रुपमा लागू हुनुपर्दछ ।’, बैठकपछि प्रवक्ता मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यस्तै बैठकमा राप्रपाको यही जेठ ११, १२ र १३ गते काठमाण्डुमा बस्ने केन्द्रीय कार्यसमिति बैठकमा पेस गरिने प्रतिवेदनहरूमाथि बृहत् छलफल भएको छ ।

बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र भावी कार्यदिशा सम्बन्धी राजनीतिक प्रतिवेदन पेस गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement