काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक दलहरूलाई हिन्दूत्वको पक्षमा जनदबाब सिर्जना गर्ने उद्देश्यका साथ धार्मिक पदयात्रा आयोजना गरेको बताएका छन् ।
सोमबार राप्रपाको नेपाल सनातन धर्म संस्कृति संगठनले आयोजना गरेको मैतीदेवीबाट पशुपतिनाथसम्मको धार्मिक पदयात्रापछि उनले नेपालमा हिन्दूराष्ट्र पुन:स्थापना गर्ने र त्यसका लागि नेपाली जनतामा हिन्दूत्वको भावनाको जागरण गराउने, यसको पक्षमा जनमत निर्माण गर्ने उद्देश्यका साथ हरेक वर्ष धार्मिक पदयात्रा गर्ने गरेको बताए ।
उनले भने, ‘नेपाल सनातन धर्म संस्कृति संगठनको आयोजना हामीले हरेक वर्ष श्रावणको एउटा सोमबार मैतीदेवीबाट पशुपतिनाथ पदयात्रा गर्ने गरेको छ । यसको मूल उद्देश्य भनेको नेपालमा हिन्दूराष्ट्र पुन:स्थापना गर्ने र त्यसका लागि नेपाली जनतामा हिन्दूत्वको भावनाको जागरण गराउने, यसको पक्षमा जनमत निर्माण गर्ने, सरकार र अन्य राजनीतिक दलहरूलाई हिन्दूत्वको पक्षमा जनदबाब सिर्जना गर्ने रहेको छ ।’
हिन्दूत्वको संरक्षणका लागि कार्यक्रमहरू सबैतिर भइरहेको देख्दा र नयाँ जागरण आइरहेको देख्दा खुसी लागेको पनि उनले बताए ।
राप्रपाका वरिष्ठ नेता पशुपति शमशेर जबराले पनि नेपाल धर्मको केन्द्र भए पनि धर्मको नाममा कहिले पनि लडाइँ नभएको भन्दै नेपालमा सबै धर्म एकै ठाउँमा मिलेर बसेको बताए ।
पदयात्रामा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपाका नेताहरू, धार्मिक क्षेत्रका अगुवाहरू, सामाजिक जीवनका विशिष्ट व्यक्तिहरूको सहभागिता थियो ।




प्रतिक्रिया