उपनिर्वाचनमा राप्रपालाई जनताले पत्याएन,तीनै उम्मेदवारको धरौटी जफत

उपनिर्वाचनमा राप्रपालाई जनताले पत्याएन,तीनै उम्मेदवारको धरौटी जफत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वैशाख १० गते भएको उपनिर्वाचबाट निरास बनेको छ ।

संविधान जारी भएपछिको पहिलो प्रतिनिधिसभा (२०७४) को निर्वाचनमा जम्मा एक सिट जितेको राप्रपाले गत मंसिर ४ गते भएको संघीय निर्वाचनमा प्रत्यक्षतर्फ सात र समानुपातिकबाट सात गरि १४ सिट जित्दै संसदको पाचौँ ठुलो दल बन्न सफल भयो ।

गत मंसिर ४ को निर्वाचनमा १४ सिट जितेको राप्रपाले आइतबार भएको उपनिर्वाचनमा भने एक सिट पनि जित्न सकेन । उपनिर्वाचनमा राप्रपाले ३ वटै क्षेत्रमा उम्मेदवारी दिएको थियो । जसअनुसार तनहुँ १ मा शोभा गुरूङ, चितवन २ मा जीवलाल पुरी र बारा २ मा सोनालाल प्रसाद सा तेलीलाई राप्रपाले उम्मेदवार बनाएको थियो ।

राप्रपाबाट चुनावी मैदानमा उत्रिएका यी तिनै जना उम्मेदवार पराजित भए । उपनिर्वाचनमा पराजित मात्र बनेनन्, यी तिनै जनाले मत पनि थोरै ल्याए । त्यसकारण यी तिनै जनाको धरौटीसमेत जफत भएको छ।

तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्वर्णिम वाग्ले ३४ हजार ९ सय १९ मतसहित निर्वाचित हुँदा राप्रपा उम्मेदवार गुरूङले २ सय १८ मत मात्रै पाइन।

चितवन २ मा रास्वपा सभापति रवि लामिछाने ५४ हजार ९ सय ७६ मतसहित निर्वाचित हुँदा राप्रपाका पुरीले जम्मा ३ सय ७५ मत मात्रै ल्याएका छन्।

बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट साझा उम्मेदवार रहेका जसपा अध्यक्ष उपेन्द्र यादव २८ हजार ४ सय १५ मतसहित निर्वाचित हुँदा राप्रपा उम्मेदवार तेलीले जम्मा १ सय १९ मत मात्रै ल्याए । सदर मतको १० प्रतिशत मत नल्याए उम्मेदवारको धरौटी जफत हुन्छ ।

त्यसकारण राप्रपाका यी तिनै जना उम्मेदवारको धरौटी जफत भएको छ । उपनिर्वाचनमा राप्रपाले उम्मेदवार बनाएका तिनै जनाको जम्मा मत गन्दा पनि १ हजार पुगेकाे छैन् । तिनै जनाले पाएको जम्मा मत ७१२ मात्र छ । त्यसैले मंसिर ४ गते भएको संघीय निर्वाचनमा चम्किएको राप्रपा उपनिर्वाचनले भने निराश बनेको छ ।