काठमाण्डु – १६ मंसिरमा भएको स्थानीय तहको उपनिर्वाचनमा दुई राष्ट्रिय पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनमत पार्टीप्रति मतदाताको उत्साह देखिएन । स्थानीय तहका ४४ पदमा भएको निर्वाचनमा यी दुई पार्टीका तर्फबाट उम्मेदवारहरूले जित्ने त परैको कुरा भयो, प्रतिष्पर्धामा पनि आएनन् ।
जनमत पार्टीका अध्यक्ष डा. सिके राउत र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उपनिर्वाचनलाई २०८४ को निर्वाचनमा अगाडि बढ्ने खुट्किलोको रूपमा अथ्र्याउँदै प्रचार प्रसारमा उत्रिएका थिए । तर, उनीहरूको दलप्रति मतदाताले कतै पनि आकर्षण देखाएनन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाम अनुसार जनमत पार्टीका उम्मेदवार विनोद कुमार माझीलले मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा ४२ मत पाउँदै ११ औँमा पुगे । उदयपुरको त्रियुगा नगरपालिका १२ जनमतका उम्मेदवार प्रमोद मलाहा सहनीले २० मत पाउँदै ७ औँ नम्बरमा पुगे ।
सुनसरीको गढी गाउँपालिका ६ मा सिताराम यादवले ६०, झापाको कन्काइ नगरपालिका ६ मा सुकलाल राजवंशीले ९, सप्तरीको डाक्नेश्वरी नगरपालिका १ मा शैलेन्द्र कुमार साहले ७४ मत मात्रै पाउन सके ।
रौतहटको इशनाथ नगरपालिका ७ मा शेख जमिरुल हकले १३५, गढीमाइ नगरपालिका ८ मा सुरेन्द्र राउत कुर्मीले ८, धनुषाको धनुषाधाम नगरपालिका १ माकुश्वेश्वर मण्डलले २५ मत पाए ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिका १ मा सीताराम पटेल कुर्मीले ४२३ र भीमदत्त नगरपालिका वडा नम्बर ६ मा यादव बहादुर चन्दले ५ मत पाए । यसले संघीय संसदमा राष्ट्रिय पार्टीको हैसियत रहेको जनमत स्थानीय तह उपनिर्वाचनमा सहभागितामा सीमित भयो ।
प्रतिनिधि सभाको पाँचौ ठूलो दल राप्रपाको हालत पनि सहभागितामै सीमित देखिएको छ उपनिर्वाचनमा । जनमत मापन गर्ने लोकतान्त्रिक माध्यम निर्वाचनमा राप्रपाप्रति जनताको उत्साह र भरोसा नरहेको राप्रपाका उम्मेदवाहरूले पाएको मत हेर्दा देखिन्छ ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको गृहजिल्ला झापाको कन्काइ नगरपालिका–६ को वडाअध्यक्षमा राप्रपा उम्मेदवारले २६ मत पाउँदै पाँचौँ स्थानमा पुगे ।
सुनसरीको गढी गाउँपालिका– ६ को वडाअध्यक्षमा राप्रपा उम्मेदवार कबिता कुमारी उराव ८७ मत पाउँदै राप्रपा चौथो स्थानमा पुगिन् ।
तेह्रथुमको लालीगुराँस नगरपालिका–८ को वडा अध्यक्षमा राप्रपा उम्मेदवार रत्नबहादुर श्रीपालीले ४ मत मात्रै पाए ।
ओखलढुंगाको मोलुङ गाउँपालिका–५ मा राप्रपाका उम्मेदवार चन्द्रमणि दाहालले ३ मत पाए । सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ को वडाअध्यक्षमा राप्रपाका उम्मेदवार सतिश कुमार चौधरीले १६५ मत पाएर चौँथो स्थान ओगटे । सोही पालिकाको ४ को अध्यक्ष पदमा राप्रपाका रामकुमार यादव ६ पाए ।
उदयपुरको त्रियुगा नगरपालिका–१२ को वडा अध्यक्षमा राप्रपाका लालबाबु साहले १७ मत पाए । काठमाडौँको कीर्तिपुर नगरपालिका–१ को वडा अध्यक्षमा राप्रपाका सुरेन्द्र प्रसाद उप्रेतीले ६४ र सोही पालिकाको वडा नम्बर ४ मा राप्रपाका उम्मेदवार बिजेस बस्नेतले ८७ मत पाए ।
काठमाडौँ महानगरपालिका–१६ मा राप्रपाका उम्मेदवार श्याम कृष्ण श्रेष्ठले ६२२ मत पाएर पाँचौँ स्थानमा आए । हेटौंडा उपमहानगरपालिका १२ मा राप्रपाका उम्मेदवार प्रेम बहादुर भोलन १७८, गुल्मीको मुसिकोट नगरपालिका–१ मा राप्रपाका उम्मेदवार इश्वरी खाती ५, कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ को वडाअध्यक्षमा राप्रपाका इनताज अहमद धोवी ६६, रोल्पाको रुन्टीगढी गाउँपालिका–४ को वडाअध्यक्षमा राप्रपाका पहल बहादुर वलीले १० मत पाए ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडा अध्यक्षमा राप्रपाका उम्मेदवार सुशील कुमार भट्ट ३६९ मतसहित तेस्रो स्थानमा रहे । दैलेखको दुल्लु नगरपालिका–१३ को वडा अध्यक्षमा राप्रपा उम्मेदवार रेशम बहादुर मल्ल १३, कालिकोटको तिलगुफा नगरपालिका–४ को वडाअध्यक्षमा राप्रपाका उम्मेदवार गोगनबहादुर शाही १७, जाजरकोटको कुसे गाउँपालिका–७ मा राप्रपाका उम्मेदवार लालबहादुर खत्री ८ र दैलेखको महाबु गाउँपालिका अध्यक्षमा राप्रपाका सुर्जे रावत ४७ मत पाउन सफल भए ।




प्रतिक्रिया