संघीयता र धर्मनिरपेक्षताविरुद्ध राप्रपा नेपालले असोज ३ गते देशव्यापी प्रदर्शन गर्ने


काठमाण्डु – राप्रपा नेपालले आगामी असोज ३ गते संघीयता र धर्मनिरपेक्षताविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको पार्टीको समीक्षा बैठकले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता बोकेको भ्रष्ट शासकको पुत्ला जलाउन तथा राँके जुलुस प्रर्दशन गर्ने निर्णय गरेको हो ।

प्रदर्शनलाई व्यापकता दिई सफल बनाउन पार्टीले जिल्ला कमिटी, भातृ संगठन र आमजनतालाई आह्वान गरेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

बैठकमा गत भदौ २९ गते भएको विरोध प्रदर्शनको समीक्षा र भाबी कार्यक्रमबारे छलफल भएको थियो । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष कमल थापाले अहिले संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाले मुलुकलाई संकटको दलदलमा फसाएकाले मुक्तिका लागि अब सडक संघर्षका माध्यमबाट व्यवस्था परिवर्तनमा जोड दिएका छन् ।

उनले भने, ‘यो व्यवस्था र प्रणालीले मुलुक बचाउन र बनाउन सकिन्न, अब आन्दोलनबाट नै सबै अटाउने व्यवस्था ल्याउनुपर्दछ ।’

बैठकमा पार्टी पदाधिकारी, सदस्य तथा जनवर्गीय संगठनका प्रमुखहरू र उपत्यकाका जिल्ला अध्यक्षहरूले आन्दोलनमा जान जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement