आरआर प्रकरण : ‘प्रेमिका’ले चिट चोर्न नपाउँदा शिक्षकको टाउकोमा बजारियाे ‘स्टिलको जग’

आरआर प्रकरण : ‘प्रेमिका’ले चिट चोर्न नपाउँदा शिक्षकको टाउकोमा बजारियाे ‘स्टिलको जग’


काठमाण्डु – काठमाण्डुस्थित रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसमा चिट चोर्न नपाएको झोंकमा गार्ड बसेका एक जना शिक्षकमाथि आक्रमण भयो । मंगलबार अर्थात हिजो आरआर क्याम्पसमा सञ्चालित परिक्षामा चिट चोर्न नपाएको भन्दै शिक्षक प्रकाश पुडासैनीमाथि सोही क्याम्पसमा अध्ययनरत विद्यार्थीले आक्रमण गरेका हुन् ।

आरआरका प्राध्यापक ऋषिकेश दाहालले सोही क्याम्पसमा ब्याचलर अफ आर्ट्स (बीए) दोस्रो वर्षमा अध्यनरत विद्यार्थी कुबेर जेठराको आक्रमणबाट शिक्षक पुडासैनीको टाउकोमा सात टाँका लगाइएको जानकारी दिए ।

घटना के हो ?

मंगलबार बिहान आर आर क्याम्पसमा बीए प्रथम वर्षको आन्तरिक परिक्षा सञ्चालन भइरहेको थियो । परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन प्रशासनले चिट चोर्नबाट कडाई गरेको थियो ।

सोहीअनुसार गार्ड बसेका शिक्षकहरुले कडाई गरिरहेका थिए । आफ्नी ‘गर्ल फ्रेन्ड’ अर्थात प्रेमिकालाई चिट चोर्न नदिएको झोंकमा उनका प्रेमी अर्थात कुबेर जेठराले पानी खाने जगले गार्ड बसेका शिक्षकको टाउको नै फुटाइदिए । जेठारा नेकपा एमाले निकट अखिल निकट मानिन्छन् ।

घटनाअनुसार उनकी प्रेमिका प्रथम बर्षको परिक्षा दिँदैथिइन । तर, ती युवतीलाई गार्ड बसेका शिक्षक प्रकाश पुडासैनीले चिट चोर्नमा कडाई गरे  । यहि खबर प्रेमिकाले कुबेर समक्ष पुर्याइन् । शिक्षकको उक्त व्यवहारबाट चिढिएका जेठारा परिक्षा सञ्चालन भइरहेकाे समयमा उनी कोठामा प्रवेश गरे ।

गार्डले ‘यो कोठामा तिमी आउन पाउँदैनौ’ भनेपछि जेठाराले उल्टै ‘तिमीले मलाई सिकाउने ? को हो तिमी ? भन्दै ती शिक्षकलाई हातपात गर्न थाले । शिक्षकमाथि हातपात भएपछि जेठारालाई क्याम्पस प्रशासनमा लगियो । अफिसमा कुबेरको छेउमा ति कुटाइखाने शिक्षक पनि उभिएका थिए ।

शिक्षकप्रति आक्रोशित भएका उनले थप बहाना खोजे । उनले शिक्षकमाथि आक्रमण गर्ने योजनासहित आफूलाई तिर्खा लागेको बहाना बनाए । उनले पानीको जग मागे ।

स्टिलको जगमा पानी पाएका जेठाराले शिक्षकको टाउकोमा बजारे । विद्यार्थी जेठाराले शिक्षकको टाउकोमा प्रहार गर्दा स्टिलकाे जग कुच्चिएको छ । आरआर क्याम्पसका बिहानी सत्र सहायक क्याम्पस प्रमुख गोविन्दप्रसाद आचार्यले शिक्षकको टाउको सात टाँका लगाइएको र उपचारपछि हिजै घर फर्किएको बताए ।

घाइते शिक्षकको उपचार काठमाडौं मोडल अस्पतालमा भएको थियो । सहायक क्याम्पस प्रमुख आचार्यले जेठारा पिसाब लाग्यो भनेर क्याम्पसबाट भागेको जानकारी दिए । उनलाई हालसम्म पक्राउ गरिएको छ ।

पीडित शिक्षकले पनि प्रहरीमा जाहेरी दिएका छैनन् । यता प्रहरीले युवकको खोजी भइरहेको जनाएको छ ।  तर, उनले क्याम्पस प्रशासनमा निवेदन दिएको र युवकलाई क्याम्पसबाटै कारबाही हुनुपर्ने माग राखेको स्रोतले जानकारी दियो ।

‘उहाँले उपचार खर्च व्यहोर्ने सर्तमा प्रशासनबाट सामान्य कारबाहीको माग राख्नु भएको छ । यो विषयलाई प्रहरी पमक्ष नलैजाने उहाँको मनसाय हामीले बुझेका छौं,’ स्रोतले भन्यो ।

पठनपाठन ठप्प

विद्यार्थीले शिक्षक कुटेपछि आरआरका प्राध्यापकहरु आन्दोलनमा उत्रिएका छन् । प्राध्यापकहरुले विरोधमा पढाइ बन्द गर्ने निर्णय गरेका छन् ।

आरआर क्याम्पस प्राध्यापक संघ, प्रजातन्त्रवादी प्राध्यापक संघ र नेपाल प्रगतिशील प्राध्यापक संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै शैक्षिक स्थलमा प्राध्यापकहरु नै असुरक्षित हुने अवस्था रहेसम्म र आक्रमणकारीलाई गल्ती अनुसारको कारबाही नभएसम्म अध्यापन नगर्ने जनाएका हुन् ।

आचार्यले घटनाका दोषीलाई पक्राउ गरेर कारबाही नगरेसम्म पठनपाठन नगर्न क्याम्पस प्रशासनलाई प्राध्यापक संघलगायतले ज्ञापन पत्र बुझाएको जानकारी दिए ।

संसदमा उठ्यो आवाज

प्रतिनिधिसभाको बैठकमा विद्यार्थीले शिक्षक कुटेको विषयले प्रवेश पाएको छ । बुधबार बसेको संसदको बैठकमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले शिक्षकलाई सात टाँका लगाउने गरी कुटिएको विषयमा शिक्षा मन्त्री र गृह मन्त्रीले जवाफ दिनुपर्ने बताएका हुन् ।

‘आरआर क्याम्पसका क्याम्पस प्रमुख कुटिएको र सात टाँका लगाइएको घटनाबारे शिक्षा मन्त्री र गृह मन्त्रीलाई बोल्न दिनु आवश्यक छ’, सुवालले भने । सांसद सुवालले क्याम्पस प्रमुख कुटिएको उल्लेख गरे पनि कुटाइ शिक्षक पुडासैनीले खाएका हुन् ।