ऊर्जामन्त्री श्रेष्ठलाई घेरेर रास्वपा कार्यकर्ताले भनेः हर्क साम्पाङलाई ५ करोडको मुद्धा लगाएर थुन्नुपर्यो

ऊर्जामन्त्री श्रेष्ठलाई घेरेर रास्वपा कार्यकर्ताले भनेः हर्क साम्पाङलाई ५ करोडको मुद्धा लगाएर थुन्नुपर्यो



चितवन–रास्वपाको प्रथम महाधिवेशनमा सहभागी हुन चितवन पुनेका सो पार्टीका नेता एवं ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठसँग कार्यकर्ताले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईलाई मुद्धा लगाएर फसाइदिन माग गरेका छन् ।


मन्त्री श्रेष्ठ आइतबार महाधिवेशन उदघाटन स्थल गेष्ट हाउसचौर प्रवेश गर्दै गर्दा केही कार्यकर्ताले रोकेर त्यस्तो माग गरेका हुन् । हर्कले संसदमा तहसनहस गरिरहेकाले उनलाई ५ करोडको मुद्धा लगाएर थुन्नुपर्ने माग ती कार्यकर्ताले राखे ।

‘संसदमा ‘हर्के’ ले एकदम तहसनहस गरेको छ, त्यसलाई ५ करोडको मुद्धा लगाएर निकालेर ५ वर्ष थुन्नुपर्छं । त्यसो नगरे हुँदै हुँदैन’, रास्वपा कार्यकर्ताले भनेका छन् ।

श्रेष्ठ त्यसको जवाफ नदिई अघि बढ्न खोज्छन् । त्यहीबीच अर्का एक कार्यकर्ताले उनलाई रोक्दै पार्टीमा रवि र बालेनको नाममा गुटबन्दी भए स्वीकार्य नहुने चेतावनी दिन्छन् ।

उनले नगर, प्रदेश र जिल्ला अधिवेशनमार्फत रास्वपामा गलत प्रवृत्तिका मानिसहरुको प्रवेश भएको रिपोर्टिङ मन्त्री श्रेष्ठलाई गरे । उनले सभापतिमा रवि लामिछाननेको विकल्प खोज्ने काम भए नराम्रो हुने पनि चेतावनी दिए ।

‘जिल्लामा, प्रदेशमा र नगरमा महाधिवेशन भयो । माथि केन्द्रमा त सबै राम्रो छ । तर, यहाँ के भएको छ भने एकदम गलत प्रवृत्तिका मान्छेहरु प्रवेश गरेर । हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीलाई कमजोर गर्ने प्रयास गरिराका छन् । मैले आफ्नो ठाउँबाट हेर्ने चाहिं हेरें, बुझें । तपाईंहरुसँग आएर भन्न टाइम हुँदैन तपाईंहरुरुलाई मसँग भेट्नलाई । अब यहाँ भेट्दाखेरि भन्न त पाउनुपर्यो’, उनले भने, ‘हाम्रो राष्ट्रिय स्वतन्त्र पार्र्टी के फाइदाका लागि त आएको होइन नि ? यहाँ मान्छेहरुले यस्तो भ्रम फैलाएका छन् । बालेनको र यो भनेका छन् । हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति आदरणीय रवि लामिछानेज्यू नै हुनुपर्छ । यदि कसैले आफ्नो व्यक्तिगत फाइदाका लागि गर्छ भने दाई एकदम नराम्रो हुनेवाला छ ।’


कार्यकर्तालाई थामथुम पार्दै मन्त्री श्रेष्ठले महाविधेशन यस्तै विषयलाई फिल्टर गर्नका लागि आयोजना गरिएको बताए ।

उनले यस्ता कुरा गर्न छाडेर टाढाबाट आएका प्रतिनिधिहरुको बस्नेलगायत व्यवस्था गर्न र स्वयंसेवकको भूमिकामा खटिन आग्रह गरे ।

‘महाधिवशेन भनेको त त्यस्तै चिजहरुलाई त फिल्टर गर्दै जाने हो । तपाईंहरुको जिम्मेवारी के हुनुपर्यो भने टाढाबाट साथीहरु आउनुभएको छ । बरु उहाँहरुको के छ बस्ने यताउता हेर्दै गर्नुस् । स्वयं सेवा गर्न साथीहरु लागेका छन्, त्यसमा फोकस गरौं न ।’