चितवनमा रास्वपाभित्र के हुँदैछ ‘गुपचुप’ ! न बन्दसत्र, न निर्वाचन प्रक्रिया

चितवनमा रास्वपाभित्र के हुँदैछ ‘गुपचुप’ ! न बन्दसत्र, न निर्वाचन प्रक्रिया


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र भएको २४ घण्टा पुग्दासम्म आगामी प्रक्रिया अनिश्चित भएको छ ।

बन्दसत्र सुरु गरेर महाधिवेशन अगाडि बढाउनुपर्ने कार्यतालिका भए पनि बन्दसत्र सुरु हुन सकेको छैन । नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया समेत अगाडि बढेको छैन ।

पूर्वनिर्धारित कार्यतालिकाअनुसार महाधिवेशनको दोस्रो दिन सोमबार दिउँसो साढे १ बजेसम्म बन्दसत्रको कार्यक्रम समापन भएर निर्वाचन प्रक्रिया अगाडि बढ्नुपर्ने हो तर दिउँसोसम्म बन्दसत्र सुरु नै भएको छैन । सोमबार बिहान ८:३० बजेदेखि बन्दसत्र सुरु भएर प्रतिवेदनहरू पारित गर्ने, विधान संशोधन गर्ने, अन्तरिम व्यवस्थापन समिति गठन गर्ने कार्यसूची रहेको थियो ।

महाधिवेशनको उद्घाटन सत्र भएपछिका औपचारिक प्रक्रिया अनिश्चित बनेका छन् । बन्दसत्र अनिश्चित पारेर पार्टीको शीर्ष नेतृत्व ‘गुपचुप’ के गर्दैछ भन्ने अधिकांश महाधिवेशन प्रतिनिधिलाई पत्तो छैन ।

उद्घाटनसत्र समापनपछि पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’बिच केही समय छलफल भए पनि त्यसयता गुपचुप के भइरहेको छ भन्नेबारे जानकारी नभएको नाम नबनाउने शर्तमा एक जना प्रतिनिधिले काठमाण्डुपाटीलाई जानकारी दिए ।

‘बन्दसत्र केहीबेरमा सुरु हुन्छ भन्दाभन्दै साँझ हुन थालिसक्यो, खै के भइरहेको छ ?’ ती प्रतिनिधिले भने, ‘३ दिनका लागि भनेर महाधिवेशनमा बोलाइएको थियो, यस्तै पाराले त कति दिनसम्म चितवनमै बस्नुपर्ने हो भन्ने चिन्ता हुन थाल्यो ।’