रास्वपा महाधिवेशनको बन्द सत्र स्थगित, प्रतिनिधि कार्ड वितरणमा ढिलाइ

रास्वपा महाधिवेशनको बन्द सत्र स्थगित, प्रतिनिधि कार्ड वितरणमा ढिलाइ


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत सोमबारका लागि तय भएको बन्द सत्र स्थगित गरिएको छ ।

पार्टीको केन्द्रीय निर्वाचन आयोग तथा प्रतिनिधि व्यवस्थापन उपसमितिले सूचना जारी गर्दै महाधिवेशन प्रतिनिधिहरूको नामावली रुजु तथा प्रतिनिधि परिचयपत्र (कार्ड) छपाइ कार्यमा अपेक्षाभन्दा बढी समय लागेकाले बन्द सत्रको कार्यक्रम तत्कालका लागि सारिएको जनाएको हो ।

सूचनाअनुसार छापिइसकेका प्रतिनिधि कार्डहरू आईतबार साँझ ७ बजेदेखि वितरण सुरु गरिनेछ भने प्रक्रियामा रहेका बाँकी कार्डहरू सोमबार बिहान ७ बजेदेखि वितरण गरिनेछ । सबै प्रतिनिधिले परिचयपत्र प्राप्त गरेपछि मात्रै बन्द सत्रको कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

पार्टीले महाधिवेशनलाई संगठनको सर्वोच्च निर्णय गर्ने प्रक्रिया भएकाले प्रतिनिधि व्यवस्थापनमा कुनै विवाद वा अन्योल उत्पन्न हुन नदिन आवश्यक सावधानी अपनाइएको जनाएको छ । यसका लागि प्रतिनिधिहरूको विवरण प्रमाणीकरण र परिचयपत्र वितरण कार्यलाई व्यवस्थित बनाउन समय लागेको बताइएको छ ।

रास्वपाले बन्द सत्र स्थगित हुँदा महाधिवेशन प्रतिनिधि, पार्टी सदस्य तथा शुभेच्छुकहरूलाई परेको असुविधाप्रति क्षमायाचना गर्दै धैर्यता, संयमता र सहयोगका लागि सबैप्रति आभार व्यक्त गरेको छ ।