रास्वपा महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु, भोलि बिहान मतदान (कार्यतालिकासहित)

रास्वपा महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु, भोलि बिहान मतदान (कार्यतालिकासहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय निर्वाचन आयोगले राष्ट्रिय महाधिवेशन निर्वाचन कार्यतालिका २०८३ को तेस्रो संशोधित तालिका सार्वजनिक गरेको छ ।

नयाँ कार्यतालिकाअनुसार महाधिवेशन प्रतिनिधिहरूको अन्तिम नामावली प्रकाशनदेखि उम्मेदवारी दर्ता, दाबी–विरोध, अन्तिम नामावली प्रकाशन र मतदानसम्मका कार्यक्रमको समय निर्धारण गरिएको छ ।

निर्वाचन आयोगले मंगलबार साँझ ५ बजेसम्म महाधिवेशन प्रतिनिधिहरूको अन्तिम नामावली पार्टीको वेबसाइट, वाट्सएप समूह तथा महाधिवेशन स्थलमा सूचना टाँस गरी सार्वजनिक गर्ने जनाएको छ । मंगलबारै पार्टी सभापति पदका लागि उम्मेदवारी फाराम वितरण तथा दर्ता प्रक्रिया सञ्चालन गरिनेछ ।

कार्यतालिकाअनुसार केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी फाराम वितरण र दर्ता मंगलबार साँझ ९:३० बजेसम्म हुनेछ । त्यसपछि उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ भने दाबी–विरोध दर्ता गर्ने समय राति १०:३० बजेसम्म तोकिएको छ ।

उम्मेदवारले नाम फिर्ता लिन चाहेको खण्डमा राति ११:१५ बजेसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । त्यसपछि अन्तिम उम्मेदवार नामावली राति ११:४५ बजे प्रकाशन गरिनेछ । आयोगले मंगलबार राति ११:४५ बजेदेखि मौन अवधि सुरु हुने जनाएको छ ।

संशोधित तालिकाअनुसार पार्टी सभापति र केन्द्रीय सदस्य पदका लागि मतदान असार १० गते बुधबार हुनेछ । मतदान सम्पन्न भएको २ घण्टाभित्र मतगणना सुरु गरिने र मतपरिणाम सार्वजनिक भएपछि दोस्रो चरणका उम्मेदवारी तथा अन्य निर्वाचन कार्यक्रमको तालिका प्रकाशन गरिने जनाइएको छ ।

रास्वपाले महाधिवेशनलाई व्यवस्थित, पारदर्शी र विवादरहित बनाउन निर्वाचन कार्यतालिकामा आवश्यक संशोधन गरी प्रतिनिधिहरूलाई जानकारी गराएको जनाएको छ ।