काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार विभिन्न सञ्चारमाध्यमका कार्यालयबाहिर पहिचान नखुलेका सवारीसाधन शंकास्पद रूपमा राखिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तत्काल निष्पक्ष छानबिन गरी सञ्चारकर्मीको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।
महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी विज्ञप्तिमा राज्यको चौथो अंगका रूपमा स्थापित सञ्चारमाध्यम र सञ्चारकर्मीहरूले निर्भीक रूपमा काम गर्ने वातावरणमाथि धावा बोल्ने वा उनीहरूलाई मनोवैज्ञानिक दबाबमा राख्ने उद्देश्यले गरिएका यस्ता शंकास्पद गतिविधि लोकतान्त्रिक मूल्य–मान्यताको ठाडो उल्लंघन भएको उल्लेख गरिएको छ ।
रास्वपाले स्वतन्त्र पत्रकारिता, प्रेस स्वतन्त्रता तथा नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकारको पक्षमा पार्टी सधैं दृढतापूर्वक उभिएको जनाएको छ । कुनै पनि बहानामा सूचना तथा सञ्चार स्वतन्त्रता हनन गर्ने, सञ्चारगृहमा त्रासको वातावरण सिर्जना गर्ने र चौथो अंगलाई संकुचित पार्ने प्रयास स्वीकार्य नहुने पार्टीको भनाइ छ ।
विज्ञप्तिमा स्वतन्त्र र भयरहित पत्रकारितालाई लोकतन्त्रको प्राणवायुको रूपमा व्याख्या गर्दै प्रेस क्षेत्रलाई त्रसित बनाउने उद्देश्यबाट गरिने यस्ता गतिविधिको भर्त्सना गरिएको छ । घटनाको तत्काल, निष्पक्ष र तथ्यपरक छानबिन गरी सञ्चारमाध्यमको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न तथा घटनामा संलग्न जोसुकैलाई पहिचान गरी कानुनबमोजिम कारबाही गर्न नेपाल सरकार, गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायसँग माग गरिएको छ ।
रास्वपाले सञ्चारकर्मी तथा सञ्चारगृहलाई कुनै पनि दबाब वा त्रासमा नपरी सत्यतथ्यमा आधारित पत्रकारितालाई निरन्तरता दिन आग्रह गर्दै पूर्ण प्रेस स्वतन्त्रता र सञ्चारकर्मीको सुरक्षाका पक्षमा पार्टी सधैं प्रतिबद्ध रहने जनाएको छ ।





प्रतिक्रिया