काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी प्रवक्तासमेत रहेका महामन्त्री डा. मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी हटाए पनि धेरैले आकांक्षा देखाएपछि नयाँ महामन्त्री तोक्न सकेको छैन ।
११ भदौमा बसेको केन्द्रीय सदस्यले अनुशासनहिन काम गरेको भन्दै महामन्त्री ढकाललाई साधारण सदस्यसमेत नरहने गरी हटाए पनि हाकांक्षी धेरै भएकाले नयाँ महामन्त्री तोक्न नसकेको नेताहरू बताउँछन् । ढकाललाई पहिला महामन्त्री र प्रवक्ताको जिम्मेवारी खोसिएको थियो । त्यसपछि कार्यवाहक प्रवक्ताको जिम्मेवारी मनिष झाले पाएका छन् भने कार्यवाहक महामन्त्रीको जिम्मेवारी सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले पाएका छन् ।
अहिले महामन्त्रीका लागि तीन सहमहामन्त्रीहरू बुर्लाकोटी‚सुमना श्रेष्ठ र विपिन आचार्य, प्रमुख सचेतक सन्तोष परियार‚ सांसद शिशिर खनाल, सहायक प्रवक्ता प्रतिभा रावल, अनुशासन समिति उपप्रमुख यज्ञमणि न्यौपानेसहितका नेताहरूले आकांक्षा देखाएपछि कसलाई जिम्मेवारी दिने भनेर सभापति रवि लामिछानेले निर्णय लिन नसकेका उनी निकट एक सदस्यले जानकारी दिए ।
रास्वपाले असोज १ र २ गते राष्ट्रिय भेला र आगामी बैशाखमा पहिलो महाधिवेशन गर्ने निर्णय गरेको छ । नेताहरू राष्ट्रिय भेलासम्म महामन्त्री नतोकिने निश्चित रहेको र महाधिवेशनसम्म पनि कार्यवाहकले चल्न सक्ने सम्भावना रहेको एक नेताले जानकारी दिए ।
रास्वपामा सभापति लामिछानेसहित उपसभापति डोलप्रसाद(डीपी) अर्याल र अर्का उपसभापति स्वर्णिम वाग्लेले पनि महामन्त्रीमा चासो राखेकाले तत्काल नियुक्त हुने सम्भावना नरहेको निकटस्थ स्रोत बताउँछ । उपसभापति अर्यालले तत्काल महामन्त्री र प्रवक्ताको जिम्मेवारी तोकिने सम्भावना नरहेको जानकारी दिए ।
रास्वपामा महामन्त्री र प्रवक्ता तोक्ने अधिकार सभापतिलाई छ ।
महामन्त्री र प्रवक्तामा नयाँलाई जिम्मेवारी दिने सुरसार नगरिए पनि संसदीय फाटमा दिइएको जिम्मेवारी खोस्ने विषयमा भने छलफल चलेको रास्वपा नेताहरू बताउँछन् । पछिल्लो पटक सम्पन्न केन्द्रीय समिति बैठकमा सहप्रवक्ता रमेश प्रसाईं, सांसद सोविता गौतम, तोसिमा कार्की र सहमहामन्त्री विपिनकुमार आचार्यलगायतले संसदीय फाटमा केही जिम्मेवारी परिवर्तन गर्नुपर्ने कुरा उठाएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
ती केन्द्रीय सदस्यका अनुसार प्रतिनिधि सभामा सचेतक रहेकी निशा डाँगीको पद खोसेर नयाँलाई जिम्मेवारी दिने विषय रास्वपामा चर्को रूपमा उठेको हो । समानुपातिक सांसद निशा रास्वपामा साधारण सदस्यबाट हटाइएका महामन्त्री डा. ढकाल निकट रहेको रास्वपाका नेताहरू बताउँछन् ।
ढकाल महामन्त्री भएका बेलामा जुनियर भएर पनि ठूलो जिम्मेवारी दिइएको तर, जिम्मेवारी अनुसारको प्रर्फमेन्स संसदमा नदेखिएकाले हटाएर पफमेन्स देखाउन सक्ने नयाँलाई जिम्मेवारी दिनुपर्ने आवाज पार्टीभित्र उठेको नेताहरू बताउँछन् ।
निकटस्थ स्रोतका अनुसार उपसभामुख बाहेक २० सांसद रहेको रास्वपामा अहिले डांगीलाई कसैको पनि समर्थन नभएको बताइन्छ । जुम्लाकी सांसद विनिता कठायत भने पार्टीभित्र कसैको निकट भएकै आधारमा जिम्मेवारीबाट हटाउन नहुने पक्षमा छिन् । कठायत पार्टीभित्र एकता पैदा गरेर जानुपर्ने पक्षमा रहेको रास्वपा स्रोत बताउंछ ।




प्रतिक्रिया