काठमाण्डु – पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आइतबार पनि काठमाडौँस्थित माइतीघर मण्डलमा प्रदर्शन र नाराबाजी गरेको छ । प्लेकार्डसहित माइतीघरमा भेला भएका रास्वपा कार्यकर्ताले सरकारविरोधी नाराबाजी गरेका थिए ।
कात्तिक २ गते सभापति लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा प्रहरीले पक्राउ गरेर पोखरा लग्दै अनुसन्धान थालेपछि रास्वपाले दिनहुँजसो प्रदर्शन गर्दै आएको छ ।
शनिबार बसेको रास्वपा केन्द्रीय समिति बैठकले सभापति लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै आन्दोलनलाई निरन्तरता दिने निर्णय गरे अनुसार आइतबार पनि प्रदर्शन गरेको हो ।
केन्द्रीय समितिले रविलाई राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरिएको जिकिर गर्दै आएको रास्वपाले देशव्यापी आन्दोलन गर्ने उद्घोष गरेअनुरूप माइतीघरमा प्रदर्शन गरेको हो ।
यसअघि पोखरामा आन्दोलन गरेको रास्वपाले शुक्रबारदेखि विरोधका कार्यक्रम काठमाडौं केन्द्रित गरेको छ ।




प्रतिक्रिया