काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई रातारात चितवनबाट पोखरा लगिएको घटनाप्रति घोर आपत्ति जनाएको छ ।
शुक्रबार आकस्मिक बैठकपछि रास्वपाले विज्ञप्ति जारी गर्दै सभापति लामिछानेलाई चितवनबाट रातारात पोखरा लगिनु आश्चर्यजनक, निकृष्ट, निन्दनीय घटना भनेको छ । सरकारको प्रत्यक्ष निर्देशनमा लामिछानेलाई चितवनबाट रातारात पोखरा लगिएको सूचना आफूहरूसँग रहेको रास्वपाको आरोप छ ।
विज्ञप्तिमा उल्लेख छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्वउपप्रधान तथा गृहमन्त्री एवं सांसद रवि लामिछानेलाई रातारात चितवनबाट पोखरा लगिएको घटनाप्रति पार्टीको घोर आपत्ति रहेको छ । सभापति लामिछानेलाई दिनभर चितवन जिल्ला सरकारी वकीलको कार्यालयमा बयान गराई राति सुतिरहेको बेलामा अचानक उठाई मध्यरातमा चितवनबाट सडक मार्ग हुँदै राति ३ बजे पोखरा पुर्याइएको रहेछ । यो आश्चर्यजनक, निकृष्ट, निन्दनीय घटना सरकारको प्रत्यक्ष निर्देशनमा भएको सूचनाहरु प्रहरी सुत्रबाट प्राप्त भएका छन् ।’
सरकारले प्रतिस्पर्धी राजनीतिक दलको नेतालाई विभिन्न बहानामा यातना दिने, अमानवीय, अपमानजनक र गैरन्यायिक चालबाजी गरिरहेको रास्वपाको आरोप छ । सभापति लामिछानेको डायरी समेत हिरासतबाटै गायब पारिएको भन्दै रास्वपाले आपत्ति जनाएको छ ।
सरकारको कर्मले नागरिकको नैसर्गिक मानवअधिकार हनन् भएको हुँदा यसबारे रास्वपाले राष्ट्रिय मानवअधिकार आयोग र सम्पूर्ण राष्ट्रिय/अन्तर्राष्ट्रिय मानवअधिकारकर्मी, मानवअधिकारवादी संघसंस्थाहरूको ध्यानाकर्षण गराएको छ ।




प्रतिक्रिया