काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको लोकप्रियतासँगै स्थापित भएर केही समय सरकारमा रह्यो । तर हाल सरकारबाहिर रहेको रास्वपाले लगातार सरकारको आलोचना गर्दै आएको छ ।
सहकारी ठगी मुद्दामा सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले सडक प्रदर्शन समेत गर्यो । जेसुकै गरे पनि सभापति रवि छुट्ने र रास्वपा सरकारमा जान पाउने सम्भावना देखिँदैन ।
प्रतिपक्षमा रहेको रास्वपाले सरकारको आलोचना गर्नुलाई सामान्य मान्न सकिए पनि रास्वपा सांसद तथा पूर्वमन्त्री शिशिर खनालले नयाँ जनमतमा जाने हिम्मत गर्नुपर्ने कुरा गर्नु सामान्य होइन ।
सामान्यतया एक निर्वाचनदेखि अर्काे निर्वाचनको बीचमा ५ वर्ष हुनुपर्छ । तर सोमबार सरकारको नीति तथा कार्यक्रममाथि संशोधन हाल्दै सांसद खनालले नयाँ जनमतको कुरा कोट्याए ।
उनले वर्तमान सरकारको औचित्य सकिएको टिप्पणी गर्दै भने, ‘कांग्रेस र एमालेले मिलेर पनि सकारात्मक निकास दिन नसक्ने हो भने यो सरकारको औचित्य सकिएको छ । नयाँ नेतृत्व स्थापना गर्ने गरी नयाँ जनमतमा जाने हिम्मत गरौं ।’
सांसद खनालले नयाँ जनमतको कुरा कोट्याएर रास्वपाको नयाँ चुनावको पर्खाइलाई व्यक्त गरेको छ । उनले अगाडि भने, ‘२ ठूला दल मिलेर बनेको यो सरकारले केही ठूलो सुधार र नीतिगत डिपार्चर गर्ला भनेको त पछिल्लो दशकको निरन्तरताको सूचीबाहेक केही देखाएन । नीति तथा कार्यक्रममा न अनुभवले दिने आत्मविश्वास देखिन्छ, न संख्याको जाँगर देखिन्छ ।’




प्रतिक्रिया