रास्वपा सचिवालय बैठकबाट ७ निर्णय, उपनिर्वाचनका उम्मेदवार कसरी छान्ने ?

रास्वपा सचिवालय बैठकबाट ७ निर्णय, उपनिर्वाचनका उम्मेदवार कसरी छान्ने ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालय बैठकले ७ वटा निर्णय गरेको छ ।

बिहीबार बसेको बैठकले भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय आयोग गठन र गृहमन्त्रीको राजीनामा माग्ने पार्टीको अडान कायम राख्ने निर्णय गरेको छ ।

पार्टीले संसद्को राज्य व्यवस्था समितिबाट पारित संघीय निजामती सेवा विधेयकको प्रतिवेदनलाई प्रतिनिधि सभाबाट पास गरिँदा ‘कुलिङ अफ पिरियड’को व्यवस्थामा गरिएको हेरफेरलाई संसद्को सार्वभौमिकतामाथि प्रहार भनेको छ ।

हेरफेरलाई ‘बदमासीपूर्ण छलछाम’को रूपमा लिई दोषीमाथि छानबिन र कारबाही गर्न संसदीय छानबिन समिति गठनको माग गरिएको छ । रास्वपाले संसद्मा भइरहेको प्रतिरोधलाई जारी राख्ने प्रतिबद्धता जनाएको छ ।

कानून बनाउने विधायकी भूमिकामा कुनै पनि चलखेल सह्य नहुने रास्वपाको निष्कर्ष छ ।

पार्टीको सचिवालय बैठकमा आगामी कात्तिक २७ गते हुने रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनका लागि योग्य उम्मेदवार छनोट गर्ने प्रक्रियामाथि पनि छलफल गरिएको छ । बैठकमा प्रस्तुत उम्मेदवार छनोट विधिमा व्यापक छलफल भएको र यसमा प्राप्त सुझावहरूलाई ध्यानमा राखेर आगामी आईतबार हुने बैठकमा अनुमोदनको लागि प्रस्तुत गर्ने निर्णय भएको छ ।

पार्टीले रुपन्देही ३ मा स्थानीय नागरिक र पार्टी शुभेच्छुकहरूको चाहनाअनुसार योग्य र सक्षम उम्मेदवार चयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

सचिवालय बैठकमा पार्टीका केन्द्रीय विभागहरूको कार्ययोजना र आगामी कार्यहरूको पनि समीक्षा गरिएको छ । विभाग प्रमुखहरूले रिक्त पदहरूको पूर्ति र विभागहरूलाई सक्रिय बनाउने विषयमा पहल लिनुपर्ने निर्देशन दिइएको छ ।

२०८२ असार मसान्तसम्मको कार्यसम्पादन प्रतिवेदन आगामी ७ गतेभित्र पेश गर्नुपर्ने निर्णय पनि गरिएको छ ।

पार्टीले प्रदेशस्तरीय विभागहरू गठन गर्ने प्रक्रिया २०८२ असार मसान्तसम्म सम्पन्न गर्ने निर्णय गरेको छ । केन्द्रीय संगठन विभागको प्रस्ताव अनुसार ७० प्रतिशत वडा अधिवेशन सम्पन्न भएका पालिकामा मात्र पालिका अधिवेशन गर्न सक्ने व्यवस्था संशोधन गरी ५० प्रतिशत वडा अधिवेशन भएका पालिकामा पनि पालिका अधिवेशन गर्न सक्ने निर्णय गरिएको छ । यसले संगठनको अवस्था चित्रित गर्ने र आगामी कार्यहरूको ढाँचा तयार पार्ने मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ ।

सचिवालय बैठकले केन्द्रीय संगठन विभागको सदस्यका लागि ३ नयाँ सदस्यहरूको मनोनयन गर्ने निर्णय पनि गरेको छ । जसमा प्रमीला भुसाल (चितवन), सुशील अधिकारी (दाङ) र मानकुमार लामा (चितवन) सदस्य मनोनित भएका छन् ।