रास्वपा समानुपातिकमा कांग्रेस नेता कर्ण दोस्रो नम्बरमा ! जेनजी अगुवा पुरुषोत्तम तेस्रो

रास्वपा समानुपातिकमा कांग्रेस नेता कर्ण दोस्रो नम्बरमा ! जेनजी अगुवा पुरुषोत्तम तेस्रो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नयाँ विकल्प दिने भनेर प्रचारबाजी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको बन्दसूची सार्वजनिक भएपछि विवाद उत्पन्न भएको छ ।

आर्थिक प्रलोभनदेखि व्यक्तिगत पहुँच र भनसुनका आधारमा समानुपातिकको सूचीमा नाम समावेश गरिएको र आन्तरिक निर्वाचनबाट उत्कृष्ट भएकाहरूलाई पाखा लगाइएको अवस्था समानुपातिक सूचीमा देखिएको छ ।

जेनजी आन्दोलनको भावनालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाइरहेको रास्वपाले जेनजी अगुवाहरूलाई नै उम्मेदवारको सूचीमा पछाडि राखेको पाइएको छ ।

रास्वपाको समानुपातिक सूचीको मधेशी क्षेत्रमा खगेन्द्र कर्णलाई दोस्रो नम्बरमा राखिएको छ भने जेनजी आन्दोलनको अगुवाइ गरेका पुरुषोत्तम यादवलाई तेस्रो नम्बरमा राखिएको छ । सोमबार रातिसम्म रास्वपाले समानुपातिक सूची बनाउँदासम्म कर्ण नेपाली कांग्रेसमै आवद्ध थिए । उनले रास्वपाको समानुपातिक सूची मंगलबार बिहान सार्वजनिक भएपछि १०:१६ मिनेटमा कांग्रेस परित्याग गरेको घोषणा गरेका छन्, तसर्थ रास्वपाले कर्ण कांग्रेसमै रहँदै उनलाई समानुपातिक उम्मेदवार बनाएको देखिन्छ ।

कर्णले मंगलबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाली कांग्रेस पार्टीसँगको २५ वर्षसम्मको यात्रालाई टुंगाएको छु । नेपाली कांग्रेस एउटा राजनीति दल मात्रै होइन, लोकतन्त्रको विश्वविद्यालय पनि हो । त्यही स्कुलको एउटा विद्यार्थी म पनि हुँ । विगतमा कांग्रेसमा रहेर नेविसंघको केन्द्रीय उपाध्यक्षमा प्रतिस्पर्धा गरे । पराजित भए । यात्रा जारी नै रह्यो । कांग्रेसभित्रका भूइँ तहका कार्यकर्ता देश र जनताप्रति यति इमान्दार छन् । त्यसको म वर्णन गर्न सक्दिनँ, कार्यकर्ताले बनेको पार्टी हो नेपाली कांग्रेस । विगत १० वर्षमा नेपाली कांग्रेस आफ्नो सैद्धान्तिक जगबाट च्युत हुँदै कहिले माओवादी र कहिले अतिवादी शक्ति एमाले अझ त्यसमा केपी ओली जस्तो नेतालाइ बोकेर देशको प्रधानमन्त्री नै बनाइदिए । मुलुकले अपुरणीय क्षति व्यहोर्नुपर्‍यो । केपी ओली न लोकतन्त्रमा विश्वास गर्छ, न संविधानमाथि उनको विश्वास छ । मूलत: नेपाली कांग्रेस आफ्नो लोकतान्त्रिक ब्रान्डलाई स्खलित लग्दै गए । नेपाली कांग्रेस आगामी दिनमा लोकतान्त्रिक शक्ति रास्वपासँग सहकार्य गर्ने वातावरण बनोस्, कांग्रेस लोकतन्त्रको पर्यायवाची बनोस् । आज म कुनै पनि साथीमाथि तीता टिप्पणी गर्ने छैन । तपाईंहरू नेपाली कांग्रेसलाई राम्रो बनाउनुस् । हामी रास्वपालाई लोकतन्त्रप्रति प्रतिबद्ध पार्टी बनाउँछौं । आजको मितिदेखि नेपाली कांग्रेसको क्रियाशील सदस्य, महाधिवेशन प्रतिनिधि र तरुण दलको केन्द्रीय समिति त्याग गरेको घोषणा गर्दछु । जय नेपाल ! सबैको शुभ होस् !’ उनले आजको मितिदेखि भनेर मंगलबारदेखि मात्रै कांग्रेस परित्याग गरेका छन् ।

अर्काेतिर जेनजी आन्दोलनका लागि अनुमति लिन प्रशासन कार्यालयदेखि सडकको मोर्चामा खटिएका पुरुषोत्तम यादवलाई कर्णको पछाडिको तेस्रो क्रममा राखिएको छ ।

दलितका सर्वाधिक लोकप्रिय जैरु ‘आउट’

रास्वपाको आन्तरिक चुनावमा दलिततर्फ सर्वाधिक लोकप्रिय मत पाएका विजय जैरू समानुपातिक सूचीमा अटाएका छैनन् । आन्तरिक चुनावमा सर्वाधिक १३ हजार १४३ मत पाएका उनी बन्दसूचीमा नपर्दा उनीभन्दा कम मत पाएकाहरू सूचीमा अटाएका छन् ।

दलित पुरूषतर्फ समानुपातिक सूचीको ४ नम्बरमा रहेका डा. रामजी रामले जैरुलाई ‘आउट’ गरिएकोप्रति असन्तुष्टि जनाएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘लोकतन्त्रमा अर्थ रहन्छ त मतदाताको मतको । अहिले रास्वपाले आन्तरिक प्राइमरी इलेक्सन गराएर अग्रस्थान हासिल गरेका व्यक्तिहरू मतअनुसारको स्थान नभई माथितल परेको देखियो । दलितबाट सर्वाधिक मत ल्याउनु भएका विजय जैरूजीको नाम समानुपातिक लिस्टमै देखिएन । प्राइमरी इलेक्सनलाई छनौटको आधार मानिएको हो/होइन जवाफ चाहियो । रास्वपामा विधि र सुशासनले अर्थ राख्छ भने विजय जैरूजीलाई ससम्मान उचित स्थानमा राखौं । मेरो नाम त्यहाँ हुनु र उहाँको नाम लिस्टमै नहुनुले मलाई लज्जाबोध भयो । मलाई राख्नुपरेकाले उहाँ नअट्नुभएको हो भने बरू म अन्य फरक भूमिकामा रहेर पनि देश र पार्टीलाई न्याय र सुशासनको खबरदारी गर्दै गरौंला । पार्टीभित्रको लोकतान्त्रिक अभ्यासले नै साँचो अर्थमा पार्टी बलियो बनाउँछ ।’

खसआर्य महिलामा रञ्जु पछाडि

खसआर्य समूहतर्फ सर्वाधिक मत पाएकी रञ्जु दर्शनालाई दशौं नम्बरमा राखिएको छ । उनले १३ हजार ५५१ मत पाएकी थिइन् । खसआर्यमा सबभन्दा धेरै १८ हजार २२३ मत पाएका रमेश प्रसाईं खसआर्य सूचीमा पाँचौं नम्बरमा छन् । उनीभन्दा झण्डै ६ हजार कम मत पाएका विपिनकुमार आचार्यलाई पहिलो नम्बरमा राखिएको छ ।

रास्वपाको समानुपातिक सूचीमा सभापति रवि लामिछाने, प्रधानमन्त्रीका आकांक्षी बालेन्द्र शाह ‘बालेन’ र ऊर्जामन्त्री कुलमान घिसिङ नजिक रहेकाहरूले मौका पाउँदा पार्टीमा लोकप्रियहरू प्राथमिकतामा परेनन् ।