रास्वपा र थरुहट अभियन्ताबीच एकता, ‘थारु विशेष क्षेत्र’ घोषणा गर्ने सहमति

रास्वपा र थरुहट अभियन्ताबीच एकता, ‘थारु विशेष क्षेत्र’ घोषणा गर्ने सहमति


काठमाण्डु – वैकल्पिक राजनीतिक शक्तिहरूलाई बलियो बनाउने उद्देश्यका साथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नागरिक उन्मुक्ति पार्टीका पूर्व नेतृत्वसहित थरुहट अभियन्ताहरूबीच एकता भएको छ ।

आईतबार भएको सहमति पत्रमा रास्वपाका उपसभापति डोलप्रसाद अर्याल, नागरिक उन्मुक्तिका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डित तथा थरुहट अभियन्ताहरू लक्ष्मण थारु र सुरेन्द्र चौधरीले हस्ताक्षर गरेका छन् ।

सहमति पत्रको सबैभन्दा महत्त्वपूर्ण पक्ष थारु बाहुल्य क्षेत्रलाई ‘थारु संरक्षित विशेष क्षेत्र’ घोषणा गर्ने प्रतिबद्धता रहेको छ । संविधानको धारा ५६(५) को मर्म अनुरूप यसका लागि कानुनी र संवैधानिक प्रक्रिया सुरु गर्ने सहमति भएको छ । दुवै पक्षले टीकापुर घटनालाई राजनीतिक आन्दोलनका रूपमा स्वीकार गरेका छन् ।

रास्वपाको नेतृत्वमा सरकार बनेपछि शान्ति सुरक्षासँग सम्बन्धित उच्च स्तरीय आयोगका सिफारिसहरू कार्यान्वयन गर्ने बुँदामा समेत सहमति जुटेको छ ।

सहमतिमा निजामती, न्यायिक र प्रहरी लगायतका सबै सरकारी सेवामा थारु समुदायका लागि तोकिएको आरक्षण व्यवस्थालाई पूर्णत: लागू गर्ने उल्लेख छ । भूगोल, जनसंख्या र सांस्कृतिक पहिचानका आधारमा प्रादेशिक सुशासनका लागि सर्वदलीय राजनीतिक सहमतिको पहल गरिने बताइएको छ ।

समायोजनपछि बन्ने दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहनेछ भने चुनाव चिह्न ‘घण्टी’ र झण्डा साविककै रहनेछ । नागरिक उन्मुक्तिका पूर्व नेतृत्व र थरुहट अभियन्ताहरूलाई रास्वपाको तहगत संरचनामा सम्मानजनक रूपमा समायोजन गरिने सहमति भएको छ ।

२०८२ भदौमा भएको जेनजी आन्दोलनको अपनत्व लिँदै नयाँ शक्तिले भ्रष्टाचार र कुशासनविरुद्ध लड्ने अठोट गरेको छ । आगामी १० वर्षभित्र नेपाललाई मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्र कार्यान्वयन गर्न दुवै पक्ष प्रतिबद्ध देखिएका छन् ।

एकतासँगै रास्वपाले अन्य सुसंस्कृत र परिवर्तनकामी शक्तिहरूलाई पनि ‘घण्टी’ चिह्नमा गोलबद्ध हुन आह्वान गरेको छ ।