काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले धनगढीमा बुधबार चुनावी सभा गर्दै छ । चुनावी सभालाई रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह बालेनले सम्बोधन गर्ने कार्यक्रम छ ।
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै रास्वपाले धनगढीको पशुपति टोलमा चुनावी सभा आयोजनना गर्न लागेको हो ।
चुनावी सभाका लागि सभापति लामिछाने मंगलबार बेलुकी काठमाण्डुबाट धनगढी पुगेका छन् । बालेन भने बुधबार पुग्दैछन् ।
सुदूरपश्चिम महोत्सव सञ्चालन हुँदै आएको धनगढीस्थित मैदानमा रास्वपाको परिवर्तन उद्घोष सभा हुन लागेको हो ।
बिहान ११ बजे सुरु हुने सभालाई सम्बोधन गरेपछि सभापति लामिछाने र बालेन सुर्खेत जाने छन् ।
सभा आयोजक समितिका संयोजक कवीन्द्र ठकुल्लाले सभा शक्ति प्रदर्शनभन्दा पनि विचार प्रवाहमा केन्द्रित रहने बताए । उनले धेरै ठाउँबाट मान्छे उतारेर सभामा शक्ति प्रदर्शन गर्न नखोजिएको बताए ।
यसअघि रास्वपाले मधेश प्रदेश जनकपुरमा माघ ५ गते पहिलो उद्घोष सभा आयोजना गरेको थियो । बालेनले जनकपुरमा आयोजित सभाबाट आफ्नो पहिलो राजनीतिक अभियान सुरु गरेका थिए ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सभापति लामिछाने चितवन २ बाट र वरिष्ठ नेता शाह झापा ५ बाट उम्मेदवार छन्।




प्रतिक्रिया