काठमाण्डु-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकसाथ पाँचवटा प्रदेश बन्द कार्यशाला (क्लोज क्याम्प) जारी छ ।
कार्यवहाक प्रवक्ता मनिष झाका अनुसार सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, कर्णाली र मधेस प्रदेशमा ‘क्लोज क्याम्प’ भइरहेको हो ।
पार्टीको वैचारिक, राजनीतिक र सांगठनिक पक्षमा छलफलसहित विधान संशोधनमा सुझाव लिन रास्वपाको प्रदेश समितिले आयोजना गरेका ‘क्लोज क्याम्प’को आज दोस्रो दिन हो ।
यसअघि रास्वपाले अघिल्लो साता केन्द्रीय तहका नेताहरूलाई सहभागी गराई काठमाडौँमा दुई दिन ‘क्लोज क्याम्प’ आयोजना गरेको थियो ।
सुदूरपश्चिममा ८०, लुम्बिनीमा ७०, गण्डकीमा ६०, कर्णालीमा ३० र मधेसमा ८० जना सहभागी ‘क्लोज क्याम्प’मा ६ समूहमा विषयगत छलफल भइरहेका छन् ।
जारी प्रदेशस्तरीय ‘क्लोज क्याम्प’मा प्रदेश समितिका पदाधिकारी, सदस्य, जिल्ला संयोजक, उपसंयोजक एवं प्रदेशस्तरीय विभागका पदाधिकारी र सदस्य सहभागी छन् । उनीहरूलाई केन्द्रीय प्रतिनिधिले सहजीकरण गरेका छन् ।
रास्वपाले सहजीकरणका लागि सुदूरपश्चिममा दीपक बोहोरा र गणेश पराजुली, लुम्बिनीमा लक्ष्मी तिवारी र कुसुम महर्जन, गण्डकीमा शिव नेपाली र विजय जैरु, कर्णालीमा हरि ढकाल र बिनिता कठायत तथा मधेसमा मनिष झा र कामिनी चौधरीलाई पठाएको छ ।
प्रवक्ता झाका अनुसार बागमतीको ‘क्लोज क्याम्प’ हिजो सकियो भने कोसी प्रदेशको आज हुँदैछ । कोसीमा निशा डाँगी र उपेन्द्र पाण्डेले सहजीकरणको जिम्मेवारी लिएका छन् ।
कार्यवहाक प्रवक्ता झाका अनुसार ‘क्लोज क्याम्प’मा विचार, संगठन, अभियान, मूल्य–मान्यता, संसदीय मामिला र क्यान्डिडेट क्लबरलिडरसिप एकेडेमी गरी ६ वटा विषयमा भएको छलफलको निष्कर्ष एकीकृत गरी केन्द्रीय समितिमा बुझाइने छ । रास्वपा केन्द्रले विधान संशोधनको सुझावसमेत मागेकाले ‘क्लोज क्याम्प’मा त्यसबारे पनि छलफल भइरहेको छ ।
‘क्लोज क्यामबाट आएका सुझाव केन्द्रीय समितिमा प्रस्तुत गरेर पार्टी विस्तार र सुदृढीकरणको योजना बनाउँछौँ’, सहप्रवक्ता प्रतिभा रावलले भनिन्, ‘राष्ट्रिय भेला र महाधिवेशनको मिति प्रस्ताव भइसकेकाले अभियानकै रूपमा पार्टी कामलाई उठाउन ‘क्लोज क्याम्प’ गरेका हौँ ।’
प्रतिक्रिया