रास्वपा केन्द्रीय समिति बैठकको निर्णयविपरीत गएपछि संकटमा डिपी अर्याल

रास्वपा केन्द्रीय समिति बैठकको निर्णयविपरीत गएपछि संकटमा डिपी अर्याल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारीको रकम अपचलनमा २ कात्तिकमा पक्राउ गरेपछि पार्टी बैठकबाटै निर्णय गरेर दुई उपसभापतिलाई जिम्मेवारी बाढेको छ ।

कात्तिक १० गते बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उपसभापति डोलप्रसाद अर्याल(डिपी)को संयोजकत्वमा ७ प्रदेश सभापति रहेको आन्दोलन सञ्चालन मूल समिति र अर्का उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा राजनीतिक नागरिक संवाद समिति बनाएको छ।

तर, केन्द्रीय समितिले गरेको यो निर्णयविपरीत उपसभापति अर्यालले राजनीतिक सम्वाद गरेपछि रास्वपामा संस्थाभन्दा कतै व्यक्ति बलियो त हुन लागेको होइन भन्ने प्रश्न नेता तथा कार्यकर्ताले उठाउन थालेका छन् ।

डा. वाग्लेलाई राजनीतिक सम्वाद समितिको जिम्मेवारी दिइए पनि अर्यालले १२ कात्तिकमा प्रमुख सचेतक सन्तोष परियारसहित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए। त्यसअघि अर्यालले गृहमन्त्री रमेश लेखकसँग पनि भेटेपछि बैठकको निर्णय एउटा काम गराइ अर्को भयो भनेर रास्वपामा प्रश्न उठेको थियो ।

अर्याल नेतृत्वको समितिको मुख्य काम सरकारलाई दबाब दिन देशका विभिन्न स्थानमा आन्दोलन र प्रदर्शन गर्ने भए पनि आन्दोलन प्रभावकारी नभएपछि प्रश्न उठेको छ । त्यसमाथि अन्य राजनीतिक दलसँग संवादको जिम्मेवारी केन्द्रीय समितिको बैठकबाटै पाएका अर्का उपसभापति डा. वाग्लेलाई छलेर प्रधानमन्त्री र गृहमन्त्री भेटेपछि नेताहरू अर्यालसँग रुष्ट बनेका छन्।

आफूले केन्द्रीय समिति बैठकको निर्णयविपरीत गएर काम गरेपछि त्यसलाई चर्चा परिचर्चाबाट हटाउन र प्रहरीको हिरासतमा रहेका सभापति लामिछानेलाई खुसी बनायन उपसभापति अर्यालले २५ कात्तिकमा पोखरा पुगेर लामिछाने जिउँदो छँदासम्म रास्वपा सभापतिमा अर्को विकल्प सोच्न नसकिने बताए ।

उनले पोखरामा रास्वपाले गरेको कार्यक्रममा भनेका थिए, ‘म यही मञ्चबाट के भन्न चाहन्छु भने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने जिउँदो रहँदासम्म रवि लामिछाने नै हो ।’

लामिछाने हिरासतमा रहेको बेला रास्वपामा नेतृत्वको विकल्पमा बहस भइरहेको बेला अर्यालले यस्तो अभिव्यक्ति दिएर नजिक बन्न खोजेका थिए । तर, त्यसको उल्टो कानुन, विधिको शासन र संस्कारसहितको राजनीति भन्दै नारा लगाउने रास्वपा आफैँ सभापतिको नाममा ‘सती’ गएको भन्दै आलोचना भइरहेको छ ।

उपसभापति अर्याल र अर्का उपसभापति डा.वाग्लेबीच कसले कार्यवाहक लिएर पार्टी चलाउँछ भन्ने बहस भइरहेका बेला अर्यालले यस्तो बताएपछि रास्वपा पद्धतिमा हैन, व्यक्ति प्रमुख रहेछ भन्ने प्रश्न सबैतिरबाट उठिरहेको छ ।

यसबारे रास्वपाका एक नेता भन्छन्, ‘कहाँ के बोल्ने भन्ने उहाँले बुझ्नुपर्ने हो । हतारको अभिव्यक्ति आफैँलाई ब्याक फायर भइरहेको छ, ।’

अर्यालको अभिव्यक्तिमा दलका अन्य नेता भने सन्तुष्ट देखिदैनन् तर सार्वजनिक रूपमा बोल्न सकिरहेका छैनन् ।तर, नेताहरूले अनौपचारिक रूपमा पार्टीभित्र र बाहिर बढेको दबाबका कारण अर्याल रविको पक्षमा बोल्न बाध्य भएको बताउँछन् ।

आफू कार्यवाहक बन्न खोजे पनि तत्काल पाउन र पाएपछि सबैलाई मिलाउन गाह्रो देखेपछि अर्यालले यस्तो जुक्ति अपनाएको हुन सक्ने अर्का नेता बताउँछन् । ‘उहाँले गरेका कामका विषयमा पार्टीभित्र र बाहिर प्रश्न उठे । त्यसैले उहाँले आफूलाई डिफेन्स गर्न र तल्ला तहका नेता कार्यकर्तामा सभापतिज्यूको पक्षमा डटेर लड्ने माहौल बनाउन बोलेको जस्तो देखिन्छ । त्यसले उहाँ स्वयं र पार्टीलाई पाइदा पुग्दैन,’ रास्वपाका एक नेताले भने ।

सोमबार पोखरामा पार्टीको कार्यवाहक सभापतिबारे सोधेको प्रश्नमा अर्यालले भनेका थिए, ‘कार्यवाहक सभापति गौण कुरा हो । हामी दुवै जनाले भन्दै आएका छौँ । सिग्नेचरी नै रोकियो भने त्यसमा सभापतिज्यूसँग सल्लाह गरेर अधिकार लिन्छौँ ।’ अर्यालले भने ।

अर्का उपसभापति डा. वाग्लेले भने हालसम्म कार्यवाहक सभापतिबारे मुख खोलेका छैनन् ।