यसरी हुँदै छ रास्वपाको उद्घाटन सत्र

यसरी हुँदै छ रास्वपाको उद्घाटन सत्र


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आइतबारदेखि चितवनमा सुरु हुँदै छ ।

महाधिवेशनका लागि सभापति रवि लामिछाने शनिबार नै चितवन पुगिसकेका छन् भने प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह आइतबार दिउँसो साढे १२ बजे भरतपुर पुग्ने कार्यतालिका छ । शाह महाधिवेशन अवधिसम्म बस्ने तय भएको छ ।

रास्वपा र सभापति रवि लामिछानेको राजनीतिक उद्गमस्थल’ र राजनीतिक यात्राको महत्वपूर्ण केन्द्रका रूपमा रहेको चितवनमा पहिलो महाधिवेशन आयोजना गरेर रास्वपाले चितवनसँगको साइनो झनै बलियो बनाउँदै छ ।

भरतपुरस्थित गेस्टहाउस चौरमा दिउँसो २ बजे सभापति लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री शाहले संयुक्त रूपमा घण्टी बजाएर महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ ।

उद्घाटन सत्रमा सांगीतिक प्रस्तुति, प्रतिनिधि तथा शुभेच्छुकहरूको स्वागतसहित कार्यक्रम सुरु हुनेछ । उद्घाटन सत्रमा पार्टीको राजनीतिक यात्रालाई समेटिएको विशेष भिडियो प्रदर्शन गरिनेछ भने थारू समुदायको सांस्कृतिक झाँकी पनि प्रस्तुत गरिनेछ ।

उद्घाटन समारोहमा संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र जनमत पार्टीका अध्यक्ष सिके राउतलाई आमन्त्रण गरिएको छ ।

नेपाली कांग्रेसबाट पुष्पा भुसाल, एमालेबाट प्रदीप ज्ञवाली, नेकपाबाट वर्षमान पुन र राप्रपाबाट राजेन्द्र लिङ्देन उपस्थित हुनेछन् । श्रम संस्कृृति र जसपा नेपालबाट अतिथिका रूपमा सहभागी हुने नेता टुंगिएको छैन ।

महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार महाधिवेशनका सम्पूर्ण तयारी पूरा भइसकेका छन् । महाधिवेशनमा चार हजार प्रतिनिधि उपस्थित हुँदैछन् ।

महाधिवेशन व्यवस्थापनका सबै तयारी पूरा भएको जनाउँदै बुर्लाकोटीले सभास्थल, मञ्च, आवास, यातायात तथा खानपान व्यवस्थापन मिलाइएको बताए । उनका अनुसार प्रतिनिधि तथा अतिथिहरूको पहिचान र सुरक्षाका लागि आवश्यक सबै प्रबन्ध गरिएको छ ।

यस्तै हल र मञ्चको व्यवस्थापन, आवतजावत, वास र खानपानको पनि व्यवस्थापन भएको बताए । उनका अनुसार प्रतिनिधि तथा अतिथि पहिचान र सुरक्षा व्यवस्थापन गरिएको छ ।

महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रियाका लागि रास्वपाले विशेष डेस्कको व्यवस्था गरेको छ। प्रतिनिधि, स्वयंसेवक, पर्यवेक्षक तथा अतिथिहरूको पहिचानका लागि छुट्टाछुट्टै परिचयपत्र तथा पहिचान चिह्न तयार गरिएको पार्टीले जनाएको छ।

रास्वपाले पहिलो पटक नेतृत्व चयनका लागि विद्युतीय मतदान प्रणाली (इलेक्ट्रोनिक भोटिङ) प्रयोग गर्ने भएको छ। मतदानका लागि ८० वटा मेसिन प्रयोग गरिनेछ भने १० वटा मेसिन परीक्षण तथा अभ्यासका लागि छुट्याइएको छ। प्रतिनिधिहरूले मतदानअघि नै ती मेसिन प्रयोग गर्ने तरिका सिक्न सक्ने व्यवस्था मिलाइएको छ। मतदान सम्पन्न भएको करिब दुई घण्टाभित्रै नतिजा सार्वजनिक गर्न सकिने बताइएको छ। साथै, विदेशमा रहेका प्रतिनिधिले पार्टीको मोबाइल एपमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको छ।

यस्तै, पार्टीले महाधिवेशनस्थल तथा वरपरका क्षेत्रमा ब्यानर, फ्लेक्स, पर्चा, पम्प्लेट वा अन्य प्रचार सामग्री प्रदर्शन तथा वितरण गर्न निषेध गरिएको छ। सामाजिक सञ्जाल, एसएमएस वा अन्य सञ्चारमाध्यममार्फत भ्रामक सूचना फैलाउने, सशुल्क विज्ञापन गर्ने वा मत माग्ने कार्यसमेत निषेध गरिएको छ।

महाधिवेशनको दोस्रो दिन बन्दसत्र सञ्चालन हुनेछ। रास्वपाले यसलाई प्रतिवेदन सत्रका रूपमा परिभाषित गरेको छ। बन्दसत्रमा विधान संशोधन प्रस्ताव, संगठनात्मक प्रतिवेदन, आर्थिक प्रतिवेदन, अनुशासन आयोगको प्रतिवेदन, नीति–विचार विभागको प्रतिवेदन तथा सभापतिको राजनीतिक प्रतिवेदन प्रस्तुत गरिनेछ।