रास्वपा पदाधिकारीको निर्वाचन आज

रास्वपा पदाधिकारीको निर्वाचन आज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत बिहीबार पदाधिकारीको निर्वाचन हुँदैछ । पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् ।

त्यसैले अब उपसभापति दुई, महामन्त्री एक र सहमहामन्त्री तीन पदका लागि मतदान हुनेछ ।

वरिष्ठ नेता एक, उपसभापति एक, महामन्त्री एक, सहमहामन्त्री तीन, प्रवक्ता एक, सहप्रवक्ता तीन, कोषाध्यक्ष एक र सहकोषाध्यक्ष दुई मनोनीत हुनेछन् । वरिष्ठ नेतामा प्रधानमन्त्री समेत रहेका बालेन शाह चयन भइसकेका छन् ।

निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार पदाधिकारीको निर्वाचन सम्पन्न भएपछि बिहीबार नै नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई शपथग्रहण गराइने र प्रमाणपत्र वितरण गरिनेछ ।

अहिले ९९ जना केन्द्रीय सदस्य चयनका लागि मतदान भइरहेको छ । निर्वाचनमा खुलातर्फ ६४ सदस्यका लागि २१० जना र भूगोलतर्फ ३५ सदस्यका लागि १७४ जना गरी कुल ३८४ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

बुधबार राति १२ बजे देखि सुरु भएको मतदान बिहीबार बिहान १० बजेसम्म जारी रहनेछ । चार हजारभन्दा बढी प्रतिनिधिले विद्युतीय मतदान प्रणालीमार्फत मतदान गरेका छन् । केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान सम्पन्न भएको केही घण्टाभित्रै प्रारम्भिक परिणाम सार्वजनिक गरिनेछ ।