रास्वपाले गर्‍यो ढकाललाई महामन्त्रीमा फर्काउन पत्र लेख्ने कोशी अध्यक्ष तिमिल्सिनालाई निलम्बन

रास्वपाले गर्‍यो ढकाललाई महामन्त्रीमा फर्काउन पत्र लेख्ने कोशी अध्यक्ष तिमिल्सिनालाई निलम्बन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले साधारण सदस्यबाटै निकालिएका पूर्वमहामन्त्री मुकुल ढकाललाई पूर्ववत जिम्मेवारीमा फर्काउन माग गर्ने केन्द्रीय सदस्यसमेत रहेका पार्टीका कोशी प्रदेश अध्यक्ष राजेश तिमिल्सिनालाई निलम्बन गरेको छ।

तिमिल्सिनाले साधारण सदस्यबाटै निकालिएका पूर्वमहामन्त्री ढकाललाई पूर्ववत जिम्मेवारीमा फर्काउन माग गर्दै कार्यवाहक सभापति डिपी अर्याललाई पत्र लेखेपछि निलम्बन गरिएको हो ।

रास्वपा पार्टी अनुशासन आयोगका संयोजक भरतमणि देवकोटाले तिमिल्सिनामाथि अनुसन्धान माग भएकाले निलम्बन गरिएको भन्दै शुक्रबार पत्र पठाएका छन्।

पार्टी कोशी प्रदेशको बैठक राखेरै तिमिल्सिनामाथि कारबाही गर्न सुनसरीको इटहरीमा पुगेको देवकोटासहितको टोली बैठक राख्न नसकेपछि फर्किएको थियो । अनुशासन समितिले बोलाएको बैठकमा ६२ सदस्यीय प्रदेश समितिका जम्मा १३ जना मात्रै उपस्थित भएपछि कोरम पुगेको थिएन ।

मुकुल ढकाललाई पुनःस्थापना गर्नुपर्ने तिमल्सिनाको अभिव्यक्तिपछि आयोगले स्पष्टीकरण माग्दै कोशी प्रदेश कमिटीको बैठक बोलाएको थियो। बैठकमा प्रदेश अध्यक्षमाथि कारबाही गर्ने भए आफूहरू नआउने खबर पठाएको प्रदेशका सदस्यहरूले जनाकारी गराएका थिए ।

बैठक बस्न नसकेपछि अनुशासन आयोगले तिमिल्सिनालाई निलम्बन गरेको हो।